एशिया प्यासिफिक समिटः भ्रम र यथार्थ
- योगेन्द्र वाग्ले
गएको प्रतिनिधिसभा निर्वाचनमा परिवार दलले घोषणा नै गरेर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई सघाएको थियो । परिवार दलको सघाउले वाम गठबन्धनलाई ठूलो प्रभाव त पारेन होला तर उसको करिब एक लाख मतदाताको मत भने वाम गठबन्धनलाई परेको अनुमान गर्न सकिन्छ । किनभने परिवार दलको मत युनिफिकेसन अभियानमा पूर्ण निष्ठा राख्नेहरुको मत हो । त्यो मत बरालिने प्रकृतिको छैन ।
परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई यतिबेला नेपाली समाजमा क्रिष्चियनका एजेन्टका रुपमा चित्रण भइरहेको छ । तर विश्वका इसाईहरुले फादर मुनबाट सिर्जित समुदायलाई इसाई धर्मसँग सम्बन्धित छैन भन्दै आएका छन् । अर्थात फादर मुनको सम्प्रदाय इसाई होइन । दशैंमा टीका लगाउने, छोराछोरीको न्वारन गराउने, जनै लगाउने जस्ता हिन्दु संस्कार एकनाथ ढकालले मान्दा रहेछन् ।
परिवार दलका मतदाताले वाम गठबन्धनलाई मत हाले । वामगठबन्धनले चुनावमा सफलता पनि पायो । घोषणा नै गरेर वामगठबन्धनलाई सघाएको परिवार दललाई वामगठबन्धनले एउटा समानुपातिक पनि दिएन । राष्ट्रिय सभामा समेत कुनै सिट दिएन ।
परिवार दलका ढकालले चुनावको बेला भिडियो नै बनाएर वामगठबन्धनलाई मत दिन आग्रह गरे । वाम गठबन्धनले परिवार दलसँग तीन बुँदे सहमति गरेको थियो । तीन बुँदे सहमति गरेर तत्कालीन एमाले र माओवादी केन्द्रले परिवार दलको सहयोग स्वीकार गरेको थियो ।
दश महिना पुग्दा नपुग्दै परिवार दलको गुनलाई बैगुनले एमालेका नेताहरुले तिरिदिए ।
नेकपाका नेता भिम रावलले भने ‘के यो सरकार परिवार दलले चलाएको हो ?’ भिम रावल परिवार दलविरुद्ध नराम्ररी खनिएका छन् । उनले एशिया प्यासिफिक समिटको त उछितो नै काढेका छन् ।
त्यो समिटलाई दुई कुराले सबैभन्दा बढी विवादित बनायो । पहिलो हो समिट शुरु हुनै लाग्दा ‘जिससकी छोरी घोषणा गरिँदै छ’ भन्ने प्रचारले । तर जिससकी छोरी घोषणा गर्ने कार्यक्रम तालिकामै रहेनछ । तालिका पछि सार्वजनिक नै गरियो । उद्घाटन सत्रमा सहभागी सबैलाई नै तालिका प्रिन्ट गरेरै बाँडिएको थियो ।
स्वर्गीय फादर मुनकी पत्नीले आफूलाई इश्वरीय छोरीका रुपमा अथ्र्याएकी भने थिइन् । फादर मुनकी पत्नी डा. हाक जा हान मुनको पहिरन हेर्दा सामान्य महिला जस्तो लाग्छ । तर उनी त्यो समुदायकी अगुवा हुन् । जसलाई मदर मुन भनेर सम्मान दिइन्छ । मदर मुन भन्ने शब्द प्रयोग गर्दा क्रिष्चियनहरुले आफ्ना धर्मगुरुहरुलाई फादर भनेर सम्बोधन गर्छन् । उता फादर यता मदर भनेर इसाई धर्मसँग जोडियो । मदर टेरेसा जस्तै मदर मुन हुन् भन्ने भ्रान्ती उत्पन्न भयो । हिन्दुका धर्मगुरुहरु गेरुवश्त्र लगाउँछन् । चन्दन, रुद्राक्ष, तुलसीको माला लगाएर लामो कपाल पाल्छन् । अनि हामीलाई उनीहरु स्वामी, महाराज जस्ता शब्दले पुकार्छौं । मुनको समुदायमा त्यस्तो चल्दैन । उनीहरुको आफ्नै शैली छ । धर्ममा जस्तै आस्था राख्ने अभियानकी अगुवा भएका कारण उनले आफूलाई इश्वरीय छोरीका रुपमा अभिव्यक्त गरिन् ।
भारतमा साइबाबाले आफूलाई ‘भगवान हुँ’ भन्थे, मान्नेले मानेकै छन् । ओशोका अनुयायीले ओशोलाई भगवान मानेका छन् । धर्ममा लाग्नेहरुले यस्तै भन्छन् । हाक जा हान मुनले पनि आफूलाई इश्वरीय छोरी मान्दिरहिछन् । तर जिससकी छोरी भने होइन किनभने यिनीहरु क्रिष्चियन नै होइनन् । हिन्दुको बेद, गीता भए जस्तै यिनीहरुको आफ्नै धर्मग्रन्थ छ (बाइबल होइन) ।
अर्को प्रमुख विवाद सात वर्षअघि नै ‘माथि’ पुगिसेका फादर मुनको वीर्य मिसाएर होली वाइन पिएको बताइयो, त्यही प्रचार पनि भयो । एकनाथ ढकालको कुरा अनुसार सुन्तलाको जुसलाई चियर्स गरिएको हो । होली वाइन नै भनेर पिलाइएको भए सयौंको संख्यामा रहेका सहभागी मध्ये कसैले त ‘वाइन नै पिएको हो’ भन्नु पर्ने । तर वाइन पिएको बयान दिने एक जना पनि नभेटिुनले यो विषय अतिरञ्जित भएको जस्ता लाग्छ ।
एसिया प्यासिफिक समिटलाई आतंकवादीहरुको सम्मेलन झैं गरी विरोध गरियो नेपालमा । नेपाल हिन्दुराष्ट्र हुँदा पनि यस्तो विरोध गरिँदैन थियो । अहिले धर्मनिरपेक्ष भइसक्दा यस्तो विवाद उत्पन्न भयो । मूलतः एक कुनै धर्मलाई बढावा दिने गरी सम्मेलन गरिएको सन्देशबाहिर गएका कारण यस्तो भयो । तर सम्मेलनमा अनेकन सेसन मध्ये धार्मिक समभावको सेसन एउटा मात्रै थियो । त्यो पनि कुनै धर्मविशेषलाई प्रोत्साहन दिने गरी होइन ।
हिन्दुत्व र राजसंस्था पुनस्र्थापना हुनु पर्छ भन्ने मान्यता राख्ने चर्चित विश्लेषक अरुणकुमार सुवेदीको मतमा एकनाथ ढकालको सम्प्रदाय इसाई नै हो । उनीहरु जनै लगाउने, किरिया गर्ने, टीका लगाउन र सबै हिन्दु संस्कार पनि मान्ने तर भित्रभित्रै क्रिष्चियन हुनेहरु हुन् । धर्मान्तरणको नयाँ विधि युनिभर्सल पिस फेडेरेसनले अवलम्वन गरेको सुवेदीको दावी छ ।
अर्का इसाई बुद्धिजीवी डा. केबी रोकाय भने फादर मुनको सम्प्रदायलाई इसाई मान्न नसकिने बताउछन् । उनी भन्छन्, ‘इसाईमा दुई तीन वटा सम्प्रदाय छन् । तर यो ति तीनवटैमा पर्दैन । यिनीहरुको धर्मग्रन्थ नै बेग्लै छ । यो सम्प्रदाय न इसाई हो, न हिन्दु । अरु भन्दा फरक हो । इसाई त हुँदै होइन ।’
एसिया प्यासिफिक समिटपछि एकनाथ ढकालविरुद्ध सामाजिक सञ्जाल खनिएको छ । मिडिया पनि विपक्षमै देखिन्छ । नेताहरु पनि त्यत्तिकै विभाजित भएका छन् । कांग्रेसले हिन्दुत्वको कुरा उठाउँदा प्रचण्डले भने, ‘हिन्दुत्वको कुरा किन उठाएको ?’ जवाफमा कांग्रेसले भन्यो, ‘एसिया प्यासिफिक समिट किन गरेको ?’ हिन्दुत्वमा प्रवेश गर्नै लागेको कांग्रेस भारतका पाँच राज्यमा भाजपाको हार देखेपछि रोकियो ।
पहिले पहिले बेइजिङमा पानी पर्दा नेपालका कम्युनिष्टहरु काठमाडौंमा छाता ओड्थे भनेर व्यंग्य गरिन्थ्यो । अहिले भारतमा कट्टर हिन्दुवादी भाजपा सरकार छ । भाजपा सरकारको असल हुन नेपालमा अहिले देश नै बेचिखान तयार हुने केही अधर्मीहरुलाई समेत हिन्दुराष्ट्र चाहिएको छ ।
जहाँसम्म समिटको कुरा छ, त्यो समिट गैरकानुनी, असंवैधानिक थिएन । समिटले नेपालको कुनै पनि कानुन र कुनै पनि धर्मसम्प्रदायको अपमान गरेको पनि होइन । कुनै जातजाती, भाषाभाषीबीच वैमनश्यता ल्याउने चेष्टा गरेको पनि होइन । मात्रै के हो भने यस्तो समिट भारतलाई नसोधी नेपाल एक्लैले गर्यो । यो भारतलाई मन पर्दैन । यसकारण हामीले पनि मन पराउनु हुँदैन भन्ने मानसिकता बोक्नेहरुले उचालिदिए । नेपालमा भारतले उचाल्दा नेपालको सरकार नै ढल्छ भने एकनाथ ढकाल के हुन् र ? त्यही भएर गगन थापाले पनि बोले, ‘युनिभर्सल पिस फेडेरेसन बन्द गर्नु पर्छ ।’
एसिया प्यासिफिक समिटको आयोजकबारे पनि केही भ्रम सिर्जना भए । खासमा समिटको आयोजना युपिएफ थियो । युपिएफ भनेको संयुक्त राष्ट्र संघ अन्तर्गतको युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल काउन्सिलको एक अंग हो । जसको कार्यक्रममा राष्ट्र संघका महासचिव सहभागी हुन्छन् भने नेपालका प्रधानमन्त्री सहभागी हुनु सामान्य विषय मात्रै थियो ।
समिटविरुद्ध संगठित रुपमै प्रचार भयो, तर पक्षमा डिफेन्स गरेको देखिएन । याे समिटबारे जति सत्य सार्बजनिक गरिए पनि गर्नेले पाउने उपहार भनेकाे ‘इसाइकाे दलाल’ काे संज्ञा नै हाे । जे बोल्दा र गर्दा विदेशी प्रभु खुसी हुन्छन् त्यही भनिदिनेहरुको कुनै कमि छैन नेपालमा । एसिया प्यासिफिक समिटबारे पनि यस्तै यस्तै भयो यसपटक ।