विचार

नूनको कहर, सुनको रहर

– संकेत कोइराला

नूनको कहर, सुनको रहर

एउटा जंगलमा विभिन्न जातका प्राणीहरूको बसोबास रहेछ । उनीहरूबीच अगाध प्रेम थियो । तिनीहरूको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन् । तर एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट पानी चुहाएर आगो निभाउने कोशिस गर्दै रहेछ । यो देखेर अरू जनावरले भनेछन् – ‘हे मूर्ख चरा तेरो चुच्चोमा ल्याएको पानीले जंगलको आगो निभ्दैन, बरू तँ उल्टै जलेर मर्न बेर छैन ।’ मुखभरिको जवाफ दिँदै त्यो चराले साहससाथ भनेछ – ‘तिमीहरू सबै डरछेरुवा हौ, तिमीहरूलाई केवल आफ्नो प्राणको चिन्ता छ । म इतिहासमा मरेर पनि अमर रहनेछु । कमसेकम मैले त कोशिस गरेँ नि !’ 

 

देशका ठूला दल जितेर पनि हारेका छन् । देशमा असन्तोषको आगो लाग्दा एउटा चराले जति प्रयास गर्ने कुनै माइकलाल देखिएनन् । न तिनीहरू व्यक्ति फेरिए, न चरित्र फेरियो । अंकगणितमा दुई तिहाई पाएको सरकार साहासमा चार तिहाई खुम्चिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह एकपल्ट ‘रेसम फिरिरी’ तालमा नाचेजस्तो गर्दा दुई तिहाई सरकारका क्याप्टेन आत्तिएर झन्डै भीरमा विमान जोत्न तयार देखिए । ज्ञानेन्द्रले नियतवश चारपटक नाचिदिने हो भने संघीयताको सम्पूर्ण पिलर रसातलमा भासिने निश्चित देखियो । नेपालका कम्युनिस्ट नेताका लागि साम्यवाद एउटा नशाबाहेक केही भएन । नारा छ, आत्मविश्वास छैन । आतिएका प्रधानमन्त्रीले अब भन्न बाँकी छ– ‘मजस्तो दूधले नुहाएको व्यक्ति प्रधानमन्त्री पाएपछि अरूथोक खोज्ने सरकार विरोधी हुन् ।’  

 

सिद्धान्त र व्याख्याका नाममा बिपीको समाजवादबाहेक अरू सूचनाबाट विमुख त्यही कांग्रेसले नाकबाट पानी पिउँछ कि घाँटीबाट भनेर हिसाब लाउनु कम्युनिस्ट नेताको दिनचर्या बनेको छ । कांग्रेसभित्र पानी पर्‍यो भने कम्युनिस्टका पार्टी अड्डामा छाता बोक्नेहरूको जमात तयार हुन्छ । राजनेता हुने मौका पाएर दम्भका कारण राजनीतिक डनमा सीमित गिरिजाप्रसाद कोइरालाको अपाच्य शैलीलाई अहिलेका कम्युनिस्ट मुखियाहरूले अक्षरशः गुरुमन्त्रका रूपमा टिपेका छन् । चिटिक्क भएर हिँड्ने 'ड्रेस कोड'देखि ‘म नै राज्य हुँ’ भन्ने घमण्डको 'प्याकेज'ले समान घरबार गरेको छ । उनीहरूको रुचि कांग्रेसको भन्दा सभ्रान्त छ । आफूमाथिकालाई चाकरी गर्नु र मुनिकालाई चाकरी गराउनमा कम्युनिस्ट नेता झन् खप्पिस देखिएका छन् । सके व्यक्तिगत नभए गुटभन्दा माथि नउठ्ने थिति व्याप्त  छ । एउटालाई राहत दिलाउन लाखौंलाई आहत बनाउने प्रतिस्पर्धा छ । सिंहदरबार गाउँ लैजाने बहसमा भर्खरै काठमाडौंमा बंगला जोडेकाहरूको सक्रिय सहभागिता देखिन्छ । यस्तो हुनु भनेको अम्लेठ नि चाहिने अण्डा नि फोर्न नदिने षडयन्त्र हो । 

 

मतदाता पनि उस्तै देखिए । फेसबुकमा क्रान्ति उराले तर भोट तिनै गाली गरिने जनमाथि खन्याए । अमेरिका जस्तो देशमा घरजग्गा कारोवारी डोनाल्ड ट्रम्प सारथी भए । छिमेकी भारतमा केजरीवाल, अन्ना हजारे हुँदै योगी आदित्यनाथजस्ता पात्र सतहमा आए । चीनमा त झन् दुई बीस हाराहारी उमेरकाहरू कार्यकारी तहमा पुगिसके । २१ वर्षकी रन्जु दर्शनाजस्ता पात्रलाई भोटको अंक गणित र राजनीति दाउपेच दुवैमा निर्वल बनाइयो । केपी ओलीलाई स्थानीय तहमा आफ्नो दल पहिलो भएकोमा खुसी लागेन बरू कांग्रेस दोस्रो कसरी भयो भनेर मनलाई मरिच बनाउने तर्फ केन्द्रित भए । शेरबहादुर देउवालाई पार्टी डुबेको भन्दा प्रचण्डपुत्रीको कल्याण नहोला भन्ने चिन्ताले खग्रास बनायो । आर्थिक लाभांसको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरू झन्झन् नांगिदै गए । यसरी चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्नु ?  

 

नेपालमा बेथितिको उपचार गफले नभएर शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ । मलेशियाको कायापलट गर्ने मुहम्मद महाथिर, सिंगापुर बनाउने लिक्वान, विहारलाई दोहोरो अंकको आर्थिक विकासमा पुर्‍याउने नितिशकुमार आएर हाम्रा मुखियाहरूलाई प्रवचन दिए पनि केही फरक पर्दैन् । यस्ता व्यक्तित्वसँग बसेर एकाधवटा कुम जोडेर फोटो खिच्नेभन्दा दोस्रो कर्म उनीहरूले जानेकै छैन् । हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । सरकारको नीति कार्यक्रमभन्दा प्रधानमन्त्रीको कमेडी चरित्रको चर्चा छ । यहाँ नेताको त्यागभन्दा बब मार्लिनको लट्टे कपाल बिक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा बिक्छ । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अर्द्धनग्न जवानी बिक्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पुर्‍याइँदा पनि अझैँ टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । यसरी क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गरिन्छ । अनि धान नफल्दा पुर्पुरोलाई धिकार्ने काम हुन्छ । विकास बादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन् । जीवनको पूर्वाद्धलाई उपेक्षा गरियो भने उत्तराद्र्धमा पुगेर बुझेको सत्य काम लाग्दैन् । 

 

भूपि शेरचनको कविताले अरूलाई मिठास दियो । तर जीवनको उत्तराद्धमा उनले निष्कर्ष निकाले– आफूलाई दुईवटा 'क' ले बिगारे । जसको अर्थ थियो– कविता र कम्युनिस्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने– ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र संझिइने हिटलर कालिदासको साकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ । 

 

क्रान्तिका नाममा जिन्दगीभर बन्दुक र बारुदको धतुरो रोपेका प्रचण्डले साठी नाघेपछि गरेको क्रान्तिको रहर आत्मघाती सिद्ध भएको छ । यस्तो कर्मले सेना र पुलिसका अगुवा पछुवा बढाए पनि मलामी नबढाउने पक्का छ ।  सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरू यो पार्टीको चुल्हो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ । धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरूको हातमा पश्चाताप शिवाय अरू केही हात लागेन । माओवादी नेतृत्वले जब शहरी नूनसंग बढी सम्झौता गर्न थाल्यो, उभित्रको रातो रंग खरानी बन्दै गयो । 

 

पुरुषको सफलता पछाडि महिलाको हात हुन्छ । यो सुल्टो व्याख्या भयो । तर उसको असफलता पछाडि महिलाको हात हुन्छ हुँदैन् ? यो पेचिलो प्रश्नको उत्तर त्यति सहज छैन् । वर्तमान मन्त्रीहरूको सम्पति विवरणमा उनीहरू सुनपति देखिनुको मनोविज्ञान पनि यसैसंग जोडिएको छ । धन त आउँछ ,जान्छ । धन गएर मानिस बिग्रदैन, तर चरित्र गयो भने मरेको मर्‍यै हुन्छ । विश्वका राजनेताहरूले बद्नामीबाट बच्न पारिवारिक बन्धन चुँडाल्ने हिम्मत गरेका छन् । उनीहरूले राजनीतिको अम्लेठ खान खोजे तर अण्डाको माया गरेनन् ।

 

पतिको शारीरिक कुरूपताप्रति तीव्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिन् । यसविपरीत अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन । संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिसहरू मात्र होइन ख्याती प्राप्त महामानवहरूको सोचाइ पनि यस्तै हुन्छ । तर शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान दम्पतिको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो । भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी श्रीमती कस्तुरबा गान्धीलाई एकसय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे ।

 

विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सप्रभुताको सिंहासनमा बस्न पुगे दुखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् । लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुपर्‍यो । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे । १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसँग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरू अहिले पनि नाक खुम्च्याउँछन् ।

 

आफ्नो परस्त्री प्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बिपीले उल्लेख गरेका छन् । अरू त अरू हरे किर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तराद्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टाको धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे । एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरूको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीहरूको उपस्थिति सघन बन्दै गएको छ ।

 

मानिसको लामो यात्रा ठूलो पहाडले होइन, जुत्तामा अड्किएको सानो ढुंगाले छेक्छ । समुद्रमा कति पानी छ भनेर तर्क कुतर्क गर्नुको अर्थै छैन नि । बरु तपाईंको लोटीमा कति पानी अटाउँछ ? त्यो पो मुख्य सवाल हो । काठमाडौंका केही पात्र यति पुलपुलिएका र पाखण्डी छन् कि डाक्टरले भनिदिने हो भने तिनीहरू पानीसमेत साबुनले धोएर खान बेर लगाउँदैनन् । औंसीको रातमा उज्यालोको गीत गाउनु ती चिल्ला सुकिलाहरूको दिनचर्या हो । रगत चुस्न आउने लामखुट्टे त टाढैबाट टिं.....गर्दै थाहा दिएर आउँछ भने दुष्ट आत्मा भएका मान्छेहरूले पनि आफू बस्ने घर कालो रंगले पोतिदिए कमसेकम असल मानिसहरूले गोता खानु पर्दैनथ्यो कि ? तर यस्तै मान्छेहरू बाघ, भालु नलाग्ने शहरमा आफ्नो घरलाई कोक्रोजस्तो छेकेर बस्छन् । अनि आफूलाई नौनी डल्लो ठान्छन् । समाज नामको चीजले पनि प्याच्चै भनिदिन्छ– वाह, कमाल होस् त त्यस्तो ।

[email protected]

संकेत कोइराला

विशेष