मुख्य समाचार

चोलेन्द्रलाई सांसदहरुको प्रश्नः ‘तासको म्यारिज कसरी बौद्धिक खेल ?’ 

चोलेन्द्रलाई सांसदहरुको प्रश्नः ‘तासको म्यारिज कसरी बौद्धिक खेल ?’ 

काठमाडौं ।  प्रधानन्यायाधीशका प्रस्तावित उम्मेदवार चोलेन्द्र शमशेर राणालाई सांसदहरुले उनका विवादास्पद विषयहरुसँग सम्बन्धित प्रश्नहरु गरेका छन् । तासको म्यारिजलाई बौद्धिक खेल मानेर फैसला गरेको प्रशंगदेखि अरुविरुद्ध मुद्दा दर्ता गरेकोसम्मका विषय संसदीय सुनवाईका क्रममा उठेका छन् । 

 

‘तपाईँको अदालतमा प्रवेश नै ब्ल्याकमेलबाट भएको भन्ने आरोप छ, त्यतिवेलाका प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंह उमेरका विषयमा तपाईँले मुद्दा हालेको र पछि सहमति गरेको भन्ने कुरा आएको छ यसबारे के भन्नुहुन्छ ?’ समितिका सदस्य शिवकुमार मण्डलले प्रश्न गरेका थिए । 

 

त्यस्तै उनले जुवातास कानुनी अपराध भएपनि मनोरञ्जन र बौद्धिक खेल भएको भनेर फैसला गरेको, इजलाश बहिष्कार गरेको, पूर्वराजाको सम्पत्ति नेपाल ट्रस्टमा आएपनि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरीलाई दाइजो पाएको भन्दै फैसला गरेको लगायतका प्रश्न गरेका थिए । 

 

यसअघि समितिको बैठकमा प्रस्तावित न्यायाधीश राणाले १४ पृष्ठको कार्ययोजना प्रस्तुत गरेका थिए ।  त्यसमा उनले छिटो छरितो न्याय दिने र न्यायापालिकामा हुनसक्ने तथा हुने भ्रष्टाचार सुन्य सहनशीलताको आधारमा नियन्त्रण गर्ने कार्यदिशा रहेको उल्लेख गरेका छन् । 

 

संसदीय सुनुवाई विशेष समितिको आइतबारको बैठकमा राणाले आफ्ना कार्ययोजना पेश गर्दै आन्तरिक तथा बाह्य रुपमा अदालतभित्र हुने भ्रष्टाचार हुनै नदिने र अदालतमा विचौलियाको काम गर्नेलाई खोजीखोजी कारवाही गर्ने प्रतिवद्धता जनाएका हुन् । 

 

त्यस्तै उनले अदालतमा कसैले ढिलासुस्ती गरे छानविन गर्न तथा कुनै न्यायाधीश र कर्मचारीले आचारसंहिता पालना गरेनगरेको निरन्तर अनुगमन गर्ने आफ्नो कार्यदिशा रहेको बताएका छन् ।

 

त्यसका लागि अदालतमा सुक्ष्म अनुसन्धानकर्ता परिचालन गर्ने योजना रहेको पनि सुनाए । 

 

‘न्यायालयभित्र भ्रष्टाचारसम्बन्धी उजुरी परेमा त्यसलाई सम्बोधन गर्ने र उजुरीकर्ताको नाम गोप्य राख्ने व्यवस्था मिलाउँछु । महिला तथा पारिवारिक मुद्दाका लागि छुट्टै अदालतको सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिन्छ’ समितिसमक्ष आफ्नो कार्यदेशबारे व्याख्या गरेका छन् ।
 

विशेष