मुख्य समाचार

जेलमुक्त  भएपछि सार्वजनिक बिदा दिने मेयर गले, जारी गरे यस्तो आदेश 

जेलमुक्त  भएपछि सार्वजनिक बिदा दिने मेयर गले, जारी गरे यस्तो आदेश 

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाले घोषणा गरेको एकदिने सार्वजनिक बिदा मेयर सियाराम कुश्वाहाले बिदा फिर्ता लिएका छन् ।  मेयर कुश्वाहाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर शनिबार कार्यकारी प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले जारी गरेको बिदाको सूचना रद्द गरिएको जानकारी दिएका छन् । 

 

कटहरिया नगरपालिकाका मेयर रहेका कुश्वाहाले सर्वोच्च अदालतबाट सफाइ पाएको खुशीयालीमा शनिबार एक विज्ञप्ति जारी गरेर आइतबार सार्वजनिक बिदाको घोषणा गरिएको थियो ।


कटहरिया नगरक्षेत्रभित्र रहेका सबै वडा कार्यालयहरु, विद्यालयलगायत नगर मातहतका सबै कार्यालयमा आइतबार सार्वजनिक बिदा हुने भन्दै शनिबार बिदाको सूचना जारी गरिएको थियो । मेयर सियाराम कुश्वाहाले आफू आउनुअघि नै कार्यकारी अधिकृतले विज्ञप्ति जारी गरेको र यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । सञ्चार माध्यमबाट नगरक्षेत्रमा आइतबार सार्वजनिक बिदाको घोषणाबारे जानकारी पाएपछि आफ्नो ध्यान केन्द्रित भएको र बिदा रद्द गरी नियमित कार्यालय सञ्चालन गरिएको मेयर कुश्वाहले जानकारी दिए ।

आफूलाई सूचना नदिई घोषणा गरिएको सार्वजनिक बिदाबारे छानबिन गरी दोषीलाई कारबाही गरिने मेयर कुश्वाहाले बताए । कार्यकारी अधिकृत उदय देवकोटाले नगरपालिकाको कार्यवाहक मेयर नुरजहाँ खातुनको निर्णयअनुसार शनिबार बिदा घोषणा गरिएको जानकारी दिए । 

 

बिदा रद्द गरिएपछि नगरपालिका, वडा कार्यालयहरु, विद्यालयहरु नियमित सञ्चालन भए पनि केही सामुदायिक विद्यालय बन्द रहेको स्थानीयवासीले बताएका छन् । 

 

काशी तिवारी हत्याकाण्डमा उच्च अदालत जनकपुर तत्काल वीरगञ्जले मेयर कुश्वाहालाई दोषी साबित गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपछि गएको वैशाख २७ गते कामाडौंस्थित बाणेश्वरबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

 

शुक्रबार सर्बोच्च अदालतका न्यायधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले उक्त मुद्धाबाट सफाइ दिएपछि मेयर कुश्वाहा प्रदेश २ का नेकपाका अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहसहितको टोली शनिबार हेलिकप्टरबाट गृहनगर कटहरिया पुगेका थिए ।

 

झण्डै नौ महिना कारागार बसेर फर्किएका मेयर कुश्वाहालाई नगरवासीले स्वागत गरेका थिए । नगरवासीलाई सम्बोधन गर्दै मेयर कुश्वाहाले बिपक्षीको जालोबाट छुटेर आफूले नयाँ जीवन पाएको बताएका थिए ।
 

विशेष