कभर स्टोरी भिडियो

प्रचण्डले धोका दिए, फेरि हुन्छ युद्ध (भिडियोसहित)

प्रचण्डले धोका दिए, फेरि हुन्छ युद्ध (भिडियोसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्त खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ केही समय अघि चर्चामा रहे । चन्दा आतंक मच्चाएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरी अभियोग दर्ता गर्यो । अदालतले रिहा गर्न आदेश दिए पनि फेरि अर्को मुद्दा थपेर हिरासत लम्ब्याउँदै गयो । अहिले उनी खुला रुपमा हिँडडुल गरिरहेका छन् । तर उनको व्यवहार भने भूमिगत शैलीको छ ।  नेपालआजजसँगको कुराकानीमा प्रकाण्डले आफूहरु खुलारुपमै राजनीति गरिरहेको बताएका छन् । यद्यपि उनका पार्टीका महासचिव विप्लवलाई भने सार्वजनिक कार्यक्रममा नदेखिएको धेरै भएको छ । 


प्रकाण्डले आफूहरुले एकीकृत जनक्रान्तिको माध्यमबाट फेरि संघर्ष गर्ने बताएका छन् । उनले पार्टीले गर्ने आह्वानमा फेरि पनि युवाहरु आउने दावी गरेका छन् । १० वर्षसम्मको जनयुद्धको राप ताप भोगेका, देखेका युवाहरु फेरि त्यस्तै संघर्षको कार्यक्रममा किन आउने भन्ने सवालमा उनले क्रान्तिमा थकान नहुने जवाफ दिए । संघर्ष चर्किदै जाँदा जनसेना, जनअदालत र जनसरकार पनि गठन हुने उल्लेख गरे । प्रकाण्डले सिके राउत विदेशबाट सञ्चालित देश टुक्रा पार्न खोज्ने तत्व भएको बताए । नेपालको वर्तमान राज्य सत्ता नै विदेशीको दलाली गर्ने मतियारको रुपमा रहेकोले एकाध व्यक्तिको कुरा यतिबेला कम महत्वपूर्ण भएको विश्लेषण गरेका छन् । 

 

वर्तमान राज्यसत्तालाई अस्वीकार गरे पनि विकृति र बेथिति अन्त्यको चाहना चाहिँ वर्तमान सरकाबाटै होस भन्ने उनको कामना छ । उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुमा सरकार आफैं जिम्मेवार रहेको उल्लेख गरे । प्रकाण्डले भने, ‘सरकारले नै हत्यारा पत्ता लगाओस् भन्ने हो । लगाएन भने हामी दबाब सिर्जना गर्छौं ।’

 

देशका मुख्य भ्रष्ट व्यक्तिहरु सरकारमा रहेकाहरु नै हुन् भन्ने उनको ठहर छ । तर नेकपाले कालोमोसो चाहिँ सामान्य व्यक्तिहरुलाई किन दल्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीले गर्ने कारबाहीमा कुनै पनि भ्रष्टहरु छुट्ने छैनन् । कोही पनि छुट्ने छैनन् भनेपछि सबै पर्छन भनेको हो । बुझ्नु भो त ? ’ प्रकाण्डले नेपालआजसँगको कुराकानीमा व्यक्त गरेका धारणाको सार निम्नानुसार छः  

 

‘ एकीकृत जनक्रान्ति एक दुई वाक्य वा एकछिनको बसाईमा बुझिने कुरा होइन । यसलाई व्याख्या गर्न समय लाग्छ । सुन्ने धैर्यता पनि चाहिन्छ । 

 

संसदवादी दलहरुले विभिन्न नाराहरु दिएर चुनाव जिते । त्यो बेलाको नेकपा एमालेलाई जनताले जनादेश दियो । वा माओवादीसहितको मोर्चालाई जनादेश आयो । दुई तिहाई नजिकको सरकार बनेको छ । यो सरकार बनेको नौ महिना भयो । यति बेलासम्म जनताको पक्षमा जनताले देख्ने गरीकन एउटा सिन्को पनि भाँचिएको छैन । हामीले संसदवाद भनेकै राष्ट्र र जनताविरोधी व्यवस्था हो है भनेका थियौं ।

 



 

 देश र जनताको विरुद्धमा क्रियाकलाप गर्ने भनेका थियौं । त्यो पुष्टि भएको छ । राष्ट्रघात पनि डरलाग्दो भएको छ । विगतको आन्दोलन र जनयुद्धबाट संघर्षबाट प्राप्त अधिकार पनि खोसिने क्रममा छ । १९५० देखि यता राष्ट्रियतामा दखल गरेका छन् विस्तारवादीहरुले । नेपाली जनताको आफ्नै सत्ता स्थापनाका लागि एकीकृत जनक्रान्तिको कुरा हामीले गरेका हौं । हामी राजनीतिक संघर्ष गरिरहेका छौं । जनतामा जान्छौं । आवश्यकता पर्दा संघर्षको जुनसुकै रुप पनि अवलम्वन गर्छौं । यो दिशातिर पार्टी अगाडि बढिरहेको छ । यो क्रान्तिमा समाहित गरेर जनताको आधारभूत आवश्यकता पूरा गर्न हामी संघर्ष गरिरहेका छौं । यी आधारभूत आवश्यकता राज्यले जिम्मा लिने काम गर्नु पर्छ । राज्यले जनतालाई रोजगारी पनि दिनु पर्छ । यो दायित्व राज्यको हो । 

 

प्रचण्डजीले शुरुमा जो भन्नु भएको थियो, जे गर्नुभयो त्यो मूलभूत रुपमा सहि थियो । जसका कारण जनयुद्ध शक्तिशाली भयो  । पछिल्लो दिनमा उहाँ त बदलिनु भयो । गन्तव्य छाडेर अन्यत्र गएपछि नेपाली क्रान्तिलाई धोका भयो । अहिले देश अप्ठ्यारो ठाउँमा छ । अब यता हाम्रो कुरा हेर्दा खेरी के छ भन्नु हुन्छ भने विगतमा राष्ट्र र जनतालाई भएको धोकाको पूर्ति गर्न नयाँ पार्टी गठन भएको हो । अबको  वैज्ञानिक क्रान्तिका लागि भएको आन्दोलन हो । राष्ट्रिय आत्ममर्पणवादको अन्त्य गर्ने हो । जनताको राजनीतिक अधिकार   र सत्ता स्थापना र धोकाको अन्त्य गर्ने दायित्व हो । 

 

 

जनक्रान्ति सफल हुन अब धेरै समय लाग्दैन । जनताले दशकौं पर्खिन पर्दैन । किनभने देशको संकटको अन्त्य नगर्ने हो भने यसले त देश र जनताको थ्रेट गरिरहेका छ । जनताको सेवा गर्छु भन्नेहरुको अनिवार्य दायित्व देशको अस्तित्व रक्ष ागर्ने पनि हो । तर खै त ? वस्तुस्थिति यस्तो बनेको छ संघीय लोकतन्त्र नामको दलाल संसदीय व्यवस्था एक वर्ष नपुग्दै जनताका अगाडि सर्वांग भएको छ । जनताको घृणाको वस्तु भएकोछ । यसकारण कम्युनिष्ट क्रान्तिकारीहरुले ठीक तरिकाले हल गर्न आवश्यक छ । 

 

 

जबसम्म जनता र राष्ट्रको समस्याको समाधान हुँदैन तबसम्म क्रान्तिबाट हार खान हुन्न । धोकाबाट निराशा त हुन्छ । समस्याले चेप्दै चेप्दै आएपछि त्यो धोका विद्रोहमा बदलिन्छ । यो एक वा दुई पटक भन्दैमा हुँदैन । मैले पूर्वजनमुक्ति सेनाका युवाहरुको पनि मैले कुरा सुनेको छु । पुरानो तरिकाले राजनीति असम्भव पनि छ । हामीले हाम्रा विचार अगाडि सारेपछि जनता आशावादी भएका छन् । हामीले जनताको मुद्दा उठाएपछि आशावाद पैदा भएको छ । जनताका लागि हामीले काम गरेपछि युवाहरु प्रभावित हुनेछन् । परिवर्तनको विधिगत तरिकालाई समर्थन प्राप्त हुनेछ ।

 

 

सरकारले त माखो पनि मारेन । जनता निराश छन् । पछिल्लो समय सामाजिक अपराध पनि बढेको छ । सरकारले यसैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भन्छ्, यसैलाई समाजवाद उन्मुख व्यवस्था भन्छ । कम्युनिष्टहरुले पार्टी, आन्दोलन, सिद्धान्तको बदनामी गर्ने तरिकाले खेल भइरहेको छ । देशको मुख्य सत्रु भनेको आत्मसमर्पणवादी तत्व हो । जनताको राजनीतिक अधिकारलगायतको सन्दर्भमा दलाल पूँजीपति वर्गको भ्रष्ट गिरोह अर्को सत्रु हो । 

 

त्यसकारणले यसैकाविरुद्धको संघर्ष नै एकीकृत जनक्रान्तिको कार्यक्रम हो । जनसंघर्ष र जनकारबाहीबाट हामी कार्यक्रम अगाडि बढाउँछौं । 

 

व्यक्ति विशेषको हाम्रो कुरा होइन ।  यो देशलाई रसातलमा पुर्याउने तत्व भनेको दलाल पूँजीपति वर्ग हो । त्यसको सत्ता, व्यवस्था र नेतृत्वकर्ताहरु हुन् । यथार्थ यहि हो । भ्रष्टाचारविरुद्ध संघर्ष गर्दा कोही पनि भ्रष्ट उम्किन पाउँदैनन् । राष्ट्रघाती, फटाहाहरु कोही उम्कन पाउँदैनन् । 

 

यस्ता तत्वहरु छन् । उदाहरणका लागि सिके राउतलाई नै लिउँ न । सिके राउत देशलाई विखण्डन गर्न चाहने, विदेशीबाट सञ्चालित व्यक्ति हो । त्यो पनि गम्भीर कुरा छ । त्यो भन्दा गम्भीर कुरा अर्को पनि छ । त्यत्रो जनआन्दोलनपछि बनेको सरकार नै राष्ट्रघाती भयो । योसंँगको मुद्दा पनि कमजोर बनाउन सकिदैन । सरकार नै राष्ट्रघात भएको छ । त्यसपछि त्योसँग जोडिएर आएको अरु तत्वहरुलाई पनि ठीक गर्नु पर्छ । 

 

कम्युनिष्ट पार्टीले सञ्चालन गर्ने क्रान्ति भनेकै पुराना परम्परावादी, राष्ट्रलाई अहित हुने प्रकृतिका विषयहरु हटाउनका लागि हुने गर्छ । पुरानो राज्यसत्ता, शासनहरुको अन्त्यका लागि क्रान्ति हुन्छ । जनताको शासन ल्याउनका लागि क्रान्ति हुन्छ । यसबाट जनसेना, जनअदालत त अनिवार्य कुरा हो । त्यसलाई अनौठो मान्नु हुँदैन । जनसरकार नै गठन भइहाल्छ नी । यसमा के अचम्म मान्नु पर्छ र ? 


पहिलो कुरा त हत्या हिंसा बलात्कार रोक्नेसरकारकै दायित्व हो । यसले नगरेपछि हामीले गर्ने कुरा आउछ । साउनमा निर्मलाको बलात्कार र हत्या भयो । म असोजमा हिरासतबाट मुक्त भएँ । बाहिर र भित्रबाट म यो विषय नियालिरहेको छु । निर्मलाको बलात्कार र हत्यामा सरकार निकम्मा भएको, लापरबाह भएको देखेपछि मैले हिरासतमुक्त हुनेसाथ अब निर्मलालाई जनताले न्याय दिनु पर्छ भनेर बोलेको थिएँ । निर्मलाको केसलाई राष्ट्रिय प्रदर्शन गर्ने छौं । अर्को कुरा हत्यारा नै संरक्षण सरकारले गरिरहेको छ । सरकार नै बलात्कारी र हत्यारा बनिरहेको छ । राज्यले नै गरिरहेको छ यो सबै अपराधहरु । निर्मलाको हत्यारा र बलात्कारीलाई कारबाही गर्न हामी निरन्तर संघर्ष गर्छौैं । 


पहिलो दायित्व त फेरि यहि राज्यसत्ताको काम हो नी । भएन भने त हामी गर्छौं गर्छौं । जनताको बीचमा अनि सार्वजनिक गर्छौं ।’
 

नेपाल कम्युनिष्ट पार्टी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रवक्त नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष