कानुनमा साढे ११ हजार भर्ना, पढ्न आउँछन् ५ सय !
काठमाडौं । यस वर्ष नेपाल ल क्याम्पसको एलएलवी प्रथम वर्षमा साढे ११ हजार विद्यार्थी भर्ना भए । तर, नियमित कक्षा लिने विद्यार्थी ४ सय ५० देखि ५ सय जना मात्रै छन् । भर्नाको अनुपातमा पढ्न आउने विद्यार्थीको यो आँकडा ४.३४ प्रतिशत मात्रै हो ।
भर्ना भएका मध्ये पाँच सय जनासम्म विद्यार्थीहरु नियमित आईरहेको सो क्याम्पसका सूचना अधिकारी नविनकुमार सुव्वाले बताए । सुव्वाका अनुसार विद्यार्थी कम हुनुमा पर्याप्त भौतिक पूर्वाधारको अभाव पनि हो । पूर्वाधार अभावका कारण विद्यार्थीहरु क्याम्पसमा नआएर परीक्षा मात्रै दिन आउँछन् ।
भर्नाका लागि एकै पटक धेरै विद्यार्थीले आवदेन दिए पनि क्याम्पसले ‘इन्ट्रान्स’ परीक्षा लिएर विद्यार्थी छान्ने तयारी गरेको थियो । पछि विद्यार्थी संगठनको दबाबमा प्रवेश परीक्षा दिएकाहरु सबैले भर्ना हुन पाउने स्थिति पैदा भयो । क्याम्पसले गत असोजमा खुलाएको तीन वर्षे एलएलबी प्रथम वर्षमा आवेदन दिने विद्यार्थीकोे संख्या नै साढे १२ हजार नाघेको थियो ।
भर्नाबाट ११ करोड ५५ लाख रुपैंया
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एलएलबी कार्यक्रम समेष्टरमा आधारित छैन । जसका कारण विद्यार्थीहरु वार्षिक परीक्षामा सोझै सहभागी हुन सक्छन् । नियमित कक्षा लिनु पर्ने बाध्यता पनि छैन । क्याम्पसले यसवर्ष विद्यार्थी भर्ना र प्रवेश परीक्षाबाट मात्रै ११ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ ।
प्रवेश परीक्षावापत एक हजार ५० र भर्ना शीर्षकमा नौ हजार रुपैयाँ शुल्क तोकिएको थियो । प्रवेश परीक्षाबाट संकलन भएको केहि रकम पुस्तकालय व्यवस्थापनमा लगाईने भएको छ ।
कानुन विश्वविद्यालय स्थापनाको माग
कानुनमा विद्यार्थीको यस्तो आकर्षण देखेपछि विद्यार्थी संगठनहरुले कानुन विश्वविद्यालयको आवश्यकता औल्याएका छन् । अखिल क्रान्तिकारीका नेता जीवन वस्नेतले आरआर क्याम्पस, विश्वभाषा क्याम्पस र ल क्याम्पसमा मात्रै अध्यापन गराउने हो भने पनि विद्यार्थीको चाँप धान्न गाह्रो हुने बताए ।
उनले भने, ‘शिक्षा सहज, निशुल्क र सबैले पढ्न पाउनुपर्छ । त्यसका लागि तत्काल कानुन विश्वविद्यालय स्थापना गर्नुपर्छ । तत्कालका लागि टीयूका सवै आगिंक क्याम्पसहरुमा कानुन संकाय खोलिनुपर्छ ।’
कानुन संकायमा भर्ना भएकामध्ये अधिकांश विद्यार्थीहरू जागिरमा आबद्ध हुने भएकाले नियमित क्याम्पस आउने गर्दैनन् । त्रिविले तीन वर्षे एलएलबीका लागि गत साउन २२ गतेबाट एक महिनाका लागि फराम खुलाएको थियो । क्याम्पसमा ३ वर्षे एलएलवी, ५ वर्षे बिएलएलएबीका साथै २ र ३ वर्षे एलएलएमको पढाइ हुने गरेको छ ।