राम्रो केटा भेटेँ भने ठाउँको ठाउँ बिहे गर्छु (भिडियोसहित)
काठमाडौं । टेलिभिजनको पर्दामा देखिरहन पाइने एक कलाकार हुन् सुशीला निरौला । तर सुशीलालाई धेरैले चिन्छन् ‘बिम्ली’ नामले । हाँस्य धारवाहिकमा ‘बिम्ली’ पात्रका रुपमा प्रस्तुत हुने भएर सुशीला यहि नामबाट चर्चित छिन् । ट्वाक्क टुक्क रिटर्न, उल्टो सुल्टो, एकादेशको चुरीफुरी, ल्याङ्गफ्याङ्ग, हर्के हवल्दार लगाएतका टेलिशृंखलाहरूमा फरक फरक भुमिकामा काम गर्दै आएकी सुशीलालाई म्युजिक भिडियोहरूमा समेत देख्न सकिन्छ ।
१७ वर्षदेखि कलक्षेत्रमा रहेकी उनले क्यारियरको शुरुवात कोरस डान्सरबाट गरेकी थिइन् । कलाकारिताको शुरुवाती दिन सम्झिदै उनले भनिन्, ‘सानैदेखि स्कुलमा नाच्ने,गाउने गर्थे मेरो त्यो रहर देखेपछि मेरो फुपुको छोरा दुर्गा खड्का दाइले मलाइ डान्स क्लासमा भर्ना गरिदिनुभयो । त्यहींबाट मेरो कलाकारिताको यात्रा शुुरू भयो’ ।
‘डान्स क्लास’ मा भर्ना भए पनि उनलाई ‘डान्सर’ नै बन्छु भन्ने थिएन । उनी एउटा असल कलाकार बन्न चाहान्थिन् । यस क्षेत्रमा आफ्नो कोही ‘गडफादर’ नभएका कारण जे जस्तो अवसर मिल्दै गयो त्यही गर्दै जाँदा आज यो स्थानमा आइपुगेको उनी बताउँछिन् ।
बालापन
उनको जन्म काठमाडैको ज्ञानेस्वरमा भएको हो । बालापन सम्झँदै भनिन्, ‘हामी भाडाको घरमा बस्थ्यौं । मेरो बालापन अर्काकै घरमा बसेर बित्यो खुलेर बोल्न र हाँस्न पाइदैन थियो । न लुगा सुकाउन पाइने न नुहाउन मज्जाले पाइने । केही कुरा खुलेर गर्न पाइएन । बालापन त्यसरी काटे पनि उमेर बढ्दै गएपछि सबै ठिक हुँदै गयो र कलाकारितामा लागियो । पछि आफ्नै घर बनाइयो । अहिले सबैले चिन्नुहुन्छ । यसैमा खुसी छु ।’
प्रेम र विवाह
सुशीला व्यस्त रहेको क्षेत्रमा आम मानिसहरुको चासो बढी हुन्छ । यो ग्ल्यामर क्षेत्र पनि हो । चिटिक्क परेकी, फूर्तिली, राम्री सुशीलाले भने अझै योग्य वर भेटेकी छैनन् । उनको कुरा पत्याउने हो भने त अझैसम्म कोही प्रेमी पनि छैनन् । प्रेम र विवाहको प्रसंगमा उनले भनिन्, ‘कसैलाई कुनै समय एकतर्फी माया गरेकी थिएँ । दोहोरो हुन सकेन र सफल भएन । क्यारियरको .शुुरूवाती अवस्थामा केही बन्नु थियो । संघर्ष गरिरहेकी थिएँ । प्रस्ताव आउँदा पनि गाली गरिन्थ्यो । अहिले त कामसँगै माया बसेको छ, फुर्सदै हुँदैन ’ । भनेपछि विहे नगर्ने भन्ने प्रश्नमा उनले भनिन् ‘त्यस्तो भनेको होइन योग्य, केटो भेटे अहिल्यै गर्न पनि तयार छु’ ।
परिवर्तन
पहिला भन्दा यसबेलाको कला क्षेत्र निर्क परिवर्तन भइसकेको छ । ‘कम्पिटिसन बढेससँगै अवसर तथा चुनौती बढेर गएको छ । पहिला एउटा मात्र मिडिया थियो अहिले धेरै छन् । अलि अघिसम्म भ्याउदिनँ भन्दा पनि आफैँलाई फोन आउथ्यो । अहिले त्यस्तो अवस्था छैन, यो क्षेत्रमा आउने धेरै छन’, उनले भनिन् ।
आय आर्जन
नेपाली कलाक्षेत्र आर्थिक हिसाबमा पहिलाको भन्दा अहिले निकै राम्रो रहेको पनि उनले बताइन् । भनिन्, ‘पहिला एउटै मात्र स्रोत थियो नेपाल टेलिभिजन । नेपाल टेलिभिजनले जति पारिश्रामिक दिन्थ्यो त्यसमै चित्त बुझाउन पथ्र्यो । तर अहिले त्यो अवस्था छैन । अहिले धेरै टेलिफिल्महरू छन । युटुबबाट पनि कमाइ हुन्छ, गाइजात्रा हुन्छ, म्युजिक भिडियोहरू छन । तीज ताका पनि थुप्रै कार्यक्रम तथा म्युजिक भिडियोहरू बन्छन्, स्टेज प्रोगामहरू पनि भइरहेका हुन्छन् । यसरी पहिलेको अवस्थासँग दाज्ने हो भने आर्थिक पाटो निकै राम्रो छ’ ।
निरन्तर यही क्षेत्रमा लाग्ने सोच बनाएकी उनले पछिल्ला दिनहरूमा निर्देशनमा हात हाल्ने योजना रहेको समेत खुलासा गरिन् ।