कांग्रेसको आर्थिक नीति : पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको प्रयोग पूर्ण अन्त्य गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ ।
समिति संयोजक डा. प्रकाशशरण महतले बुधबार केन्द्रीय समितिमा पार्टीको प्रस्तावित आर्थिक नीति पेस गरेका हुन् । गत भदौ ८ गते पार्टीका सह-महामन्त्री महतको संयोजकत्वमा १० सदस्यीय ‘समग्र आर्थिक नीति प्रस्ताव समिति’ गठन भएको थियो ।
पार्टीको आगामी आर्थिक नीति कस्तो हुने भन्ने सन्दर्भमा जिल्ला र प्रदेश तहमा, उद्योगी ब्यावसायी र भातृसंस्थाहरुसँग समेत छलफल गरी समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव तयार पारिएको संयोजक महतले जानकारी दिए ।
सरकारले गलत अर्थ नीति लिएको दावी गर्दै कांग्रेसले पेट्रोलियम पदार्थबाट चल्ने सवारी दर्तामा बन्देज गरिने बताएको छ ।
आर्थिक नीति सम्वन्धि प्रस्तावमा व्यापार घाटा कम गरी स्वदेशी जलविद्युतको उपभोग बढाउन २०३० बाट पेट्रोलियम पदार्थमा आधारित यातायातका साधनको प्रयोग पूर्ण अन्त्य गर्दै घरायसी प्रयोजनमा विद्युत उपभोग बढाउने नीति अख्तियार गर्ने कांग्रेसको प्रस्तावित आर्थिक नीतिमा उल्लेख गरिएको छ ।
उर्जा क्षेत्रमा स्वदेशी विदेशी लगानी आकर्षित गरी राष्ट्रिय आवश्यकता पूर्तिको साथै निर्यात बजारको विविधकरणबाट पाँच वर्षभित्र नेपालको सम्पूर्ण क्षेत्रमा विद्युतिकरण पूरा गरिने जनाइएको छ ।