अर्थ मुख्य समाचार

ईयूको कालोसूचीको कुनै औचित्य छैन : मन्त्री अधिकारी 

ईयूको कालोसूचीको कुनै औचित्य छैन : मन्त्री अधिकारी 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली संघ (ईयू)  ले नेपाल वायुसेवा निगमसहित नेपालका सबै वायुसेवा प्रदायक कम्पनीलाई कोलोसूचीमा राखेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।   ईयूले भनेको सबै मापदण्ड नेपालले पुरा गरेकोले कालोसूचीमा राख्ने नहुने उनले दावी गरे ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित पर्यटनमन्त्री अधिकारीले ईयूको सबै शर्त पुरा गरेको बताए । ‘नेपाली वायुसेवा कम्पनीलाई कोलोसूचीमा राख्न उचित छैन। हामीले सबै शर्त पूरा गरेका छौं। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट नेपाल हटाईसकेको अवस्थामा ईयुको कालोसूचीमा राखिरहनुको कुनै औचित्य छैन,’ उनले भने  । 

युरोपेली युनियनले विगत ६ वर्षदेखि नेपाली विमान कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सरकारी उड्डयन अधिकारीहरुले यो वर्ष हट्ने दाबी गरेका थिए तर, हालै मात्र ईयूले निकालेको कालोसूचीमा नेपालका सबै विमान कम्पनी परेका छन् । कालोसूचीबाट हटाउन सरकारले पहल गरिरहेको बताँउदै मन्त्री अधिकारीले  ‘भिजिट नेपाल २०२०’  अघि नै प्रतिबन्ध हट्ने दाबी गरे । 

पर्यटनमन्त्री अधिकारीलाई साझेदार भित्राउन आग्रह 

मन्त्री अधिकारीले निगम पछिल्लो समय घाटामा रहेको भन्दै सरकारसँग रकम माग गरेका थिए । तर, अर्थमन्त्री युवराज खतिवडाले रकम दिन नसक्ने भन्दै साझेदार भित्र्याउन सुझाएका थिए । 
यसैबीच मन्त्री अधिकारी पनि अर्थमन्त्रीको लाईनमा उभिएका छन् उनी साझेदार भित्राउने तयार भएका छन् । 

‘पार्टनर नाम मात्रको होइन, लगानी पनि गर्न सक्ने खोजेर निगमलाई बलियो बनाइनेछ । संसारभरका सबै एयरलाइन्सले यो उपाय अबलम्बन गरेका छन् हामी पनि यसको प्रयोग गर्ने छौं । पार्टनर खोज्दा यसको अस्तित्व मेटिँदैन । ब्राण्ड हाम्रै हुन्छ, ’उनले भने । 

विशेष