बिजुलीको खाँबोमा प्रधानमन्त्रीको फोटो टाँसेर नयाँ युग आउँदैन (भिडियोसहित)
प्रा.डा. सुरेन्द्र केसीले सरकारले लागू गरेको सामाजिक सुरक्षा कोष कार्यक्रम राम्रो भए पनि प्रचार नचाहिँदो भएको उल्लेख गर्नुभएको छ । नेपालआजको नियमित भिडियोस्तम्भ ‘इतिहास र अनुभूति’मा बोल्दै केसीले यस्तो धारणा राख्नु भएको हो । डा. केसीले व्यक्त गर्नुभएको धारणको सार निम्नानुसार छः
‘सामाजिक सुरक्षा कोषका तीन आयाम देखिए । पहिलो श्रमिक वर्गको सामाजिक सुरक्षा गर्ने भन्ने । दोस्रो तीन वर्षअगाडिकै कार्यक्रम लागू गरिएको भन्ने छ । समाजवाद उन्मुख भन्ने संविधानमै उल्लेख छ । फोटो पोलमा टाँस्ने कामले प्रचारमुखी भयो भन्ने टिप्पणी पनि भइरहेको छ । विवादित र आलोचित पनि भएको छ ।
हामी कहाँ पुजी निर्माण भएको छैन । अर्थमन्त्रीले मागेर वृद्धभत्ता दिन नसक्ने भनेका थिए । उनलाई थाहा रहेछ हामी मांग्ने हौं भन्ने कुरा । फेरि भारतीय सेनामा काम गरेकाहरुलाई बेग्लै क्याटोगरी बनाएर वृद्धभत्ता दिन थालिएको भन्ने कुरा पनि आयो । पहिले पनि उनीहरुले नेपालबाट पाउने भत्ता पाइरहेकै थिए ।
हामीे उत्पादनमुखी आर्थिक प्रणालीमा जानु पर्छ । वितरणमुखी आर्थिक प्रणाली राम्रो होइन । यो विषयमा सरकार बढी संवेदनशील कुरा हो ।
हामी तथ्यांकबाटै भन्न सक्छौं कि अर्थतन्त्रमा कृषिको योगदान ३३ प्रतिशत छ । रेमिट्यान्सको योगदान २९.९ प्रतिशत छ । पर्यटन क्षेत्रको २० प्रतिशत छ । औधोगिक क्षेत्रको ६ प्रतिशत मात्रै छ । ३२ खर्ब जतिको अर्थतन्त्र छ । १५ खर्ब जतिको बजेट छ । ११ खर्ब त व्यापार घाटा नै छ । आठ खर्ब बिदेशी ऋण छ । आठ खर्ब रेमिट्यान्सबाट यो देश चलेको हो । यो आर्थिक अवस्था भएको देशमा राष्ट्रपतिले १८ करोडको गाडी चढ्ने, प्रधानमन्त्री पाँचतारे सोल्टी होटलमा गएर बस्ने, बेकारमा पनि महिनैपिच्छे विदेश भ्रमणमा जाने भइरहेको छ ।
योगदानमा आधारित भनेको जसले दिन सक्छ त्यसले सामाजिक सुरक्षा पाउने हो । पैसा तिर्न नसक्नेले कुनै लाभ पाउँदैन । असंगठीत क्षेत्रका मजदुर र श्रमिकले के पाउने ? पाउने अवस्था छैन ।
नेपाली महिलाहरु बिहान उठेदेखि नसुतेसम्म कुनै न कुनै काममा व्यस्त हुन्छन् । तर त्यसलाई कुनै पेसा वा पैसा आउने काम मानिदैन । महिलाहरुले काम पुँजीकृत भएको छैन । उनीहरुले प्रतिफल पाएका छैनन् । असंगठीत क्षेत्रमा काम गर्ने मजदुरकै सामाजिक सुरक्षा गर्न सकिएको छैन भने गृहिणीहरुको के कुरा ।
भएका उद्योगहरु समाप्त पारियो । बजार साँघुरो छ । ९४ रुपैयाँको वस्तु किन्दा हामीले ६ रुपैयाँको मात्रै सामान बेच्न सकेका छौं ।
सरकारले बिजुलीको खाँबोमा तस्वीर झुड्याउँदैमा नयाँ युग आउँदैन । बोल्दैमा नयाँ युग आउने होइन । अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान वृद्धि गराउनु पर्छ । पहिले ६ लाख मानिसहरु त गलैचा र गार्मेन्टमा काम गर्थे । अहिले समाप्त भयो ।
उत्पादनमुलक उद्योगहरु नै सिध्याइयो । अहिले सामाजिक सुरक्षाको कुरा ल्याइयो । उद्योग धेरै भ एभने मजदुर पनि धेरै हुन्छन् । जनसंख्याको मुख्य अंशले सामाजिक सुरक्षा पाउँछ । तर औद्योगिक संरचना नै भत्काएर सामाजिक सुरक्षाको कार्यक्रम ल्याउँदा मुख्य वर्ग छुट्यो भन्ने कुरा हो ।
सामाजिक सुरक्षाको कुरा प्रचारमुखी बनाइएपछि के भन्ने गरिएको छ भने , ‘प्रधानमन्त्री त ठीकै हुन् । वरिपरिकाले गलत सल्लाह दिए । ’ यस्तो भनेर उम्किन पाइँदैन । राम्रा काम जति प्रधानमन्त्रीले गर्नु भएको भन्ने । काम बिग्रेपछि वरिपरिकाले सल्लाह गलत दिए भन्न पाइँदैन ।
यतिबेला प्रधानमन्त्रीको जताततै आलोचना भइरहेको छ । प्रधानमन्त्रीेले पुनरावलोकन गरेर ब्रेक लगाउनु पर्छ । समय छ । भएको कमजोरी हटाएर अगाडि बढ्नु पर्छ ।’