कभर स्टोरी भिडियो

एक महिने स्क्रिप्ट बोकेर फिल्म बनाउनेहरुको भाग्यमा ‘फ्लप’ नै हुन्छ (भिडियोसहित)

राम्रो सिनेमा निर्देशकले बनाउनु पर्छ, हिट बनाउने जिम्मा निर्माताको हुन्छ 

एक महिने स्क्रिप्ट बोकेर फिल्म बनाउनेहरुको भाग्यमा ‘फ्लप’ नै हुन्छ (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र लेखन र निर्देशनमा औंलामा गनिने एउटा नाम हो – –नवल नेपाल । श्रीमान, महशुस, भाग सानी भाग, लज्जा र मङ्गलम जस्ता फिल्ममा आफ्नो निर्देशकीय क्षमता देखाइसकेका उनले आफ्नो यो सपनालाई भेट्न मात्रै फिल्म क्षेत्रमा २७ वर्ष कुद्नु पर्‍यो । उनी निर्देशकमा नियुक्त भएका व्यक्ति होइनन्, लामो समयको संघर्ष र लगावपछि बढुवा भएका हुन् । यसकारण पनि उनले यो क्षेत्रलाई राम्ररी बुझेका छन् । 

 

 

पहिलो पटक ‘युग’ नाम गरेको भिडियो फिल्मबाट निर्देशनमा आएका उनको चलचित्रकर्मी बन्ने सपना बालापन देखि नै थियो । 
बच्चाबेलामा थुप्रै सिनेमा हेर्ने उनलाई सिनेमा क्षेत्रको रङ्गीन दुनियाँले सानै छँदा लोभ्यायो । फिल्म हेर्न गएका उनका बाल नयनले खुल्ला रुपमा सपना देख्न थाले । आफू पर्दाभित्र रहेर काम गरेको खुल्ला आँखाले देखेका सपनाले सुत्न दिने कुरै भएन । स्कुलमा हुने प्रत्यक साँस्कृतिक कार्यक्रममा उनी अगाडि बढ्न  थाले । थिएटरमा नाटक लेख्न, खेल्न र निर्देशन गर्न  थाले । कलाकार तथा फिल्म क्षेत्रका प्राविधिकको अन्तर्वार्ता पाएसम्म सुन्न थाले । यिनै क्रियाकलापले उनको यो यात्रामा भिटामिनको काम ग¥यो । परिणाम स्वरुप उनी आजसम्म थाक्न पाएनन् ।

 

">

 

उनले ठूलो पर्दाका जम्मा पाँच चलचित्र गरे जसमा भाग सानी भाग आर्थिक हिसाबले अलि कमजोर रह्यो भने श्रीमान, महशुस, लज्जा र मङ्गलम सफल चलचित्रमा नै गनिन्छन् । चलचित्र आर्थिक हिसाबले सफल हुन निर्देशकको कामले मात्र अर्थ नराख्ने उनको तर्क छ । उनी भन्छन, ‘राम्रो चलचित्र दिनु निर्देशको काम हो । चलचित्र आर्थिक रुपमा सफल बनाउन निर्माताको पनि मुख्य भुमिका हुन्छ । खर्च व्यवस्थापन,प्रचारप्रसार लगाएतका पाटामा निर्माता कमजोर भएमा जस्तोसुकै राम्रो चलचित्र पनि आर्थिक हिसाबमा सफल बन्न सक्दैन ।’ 

 

चलचित्र क्षेत्रमा आएको परिवर्तनलाई सकारात्मक र नकारात्मक दुवै दृष्टिबाट परिभाषित गर्छन उनी । ‘पछिल्लो समय प्रविधि बलियो छ । प्रविधिको सहयोगले छोटो समयावधिमा पनि धेरै विषयहरु अटाउन सकिन्छ । सिने क्षेत्र प्रवेश गर्ने नयाँ पुस्तामा उर्जा ,जाँगर कैतुहलता छ । नयाँ पुस्ताले प्रयोगवादी सिनेमा पनि बनाउन खोजेका छन् । यी निकै नै सकारात्मक कुरा हुन् भने अनुशासनको कमी देखिनु नकारात्मक पाटो हो । चलचित्र निमार्णमा अनुशासन चाहिन्छ सिस्टममा बसेर काम गरे मात्र प्रोडक्ट बलियो बन्ने उनको विश्वास छ । 

 

फिल्म बनाउँदा नवल कन्टेन्ट र क्यारेक्टरमा ध्यान दिन्छन् । उनी भन्छन्, ‘दर्शकको रुची थाहा नपाउनेले सिनेमा नबनाएकै ठीक हुन्छ ।’

 

नेपालमा अहिले हाँस्य चलचित्रको लहर छ । कस्तो विधाको चलचित्र निर्माण गर्नमा रूची छ भन्ने प्रश्नमा उनले भने, ‘ साहित्य वा सिनेमामा हुने भनेको नवरस नै हो । तर नेपाली सिनेमामा हाँस्य, करुण र वीर रसमा आधारित सिनेमा बढी बनेका छन् । 
दर्शकले जुन रसमा फिल्म चाहनु हुन्छ त्यही रसमा फिल्म बन्छन् –नवल भन्छन् । 

 

सफल चलचित्र निमार्ण गर्न चलचित्र निर्माण सबै पाटामा अब्बल हुनुपर्ने उनको बुझाइ छ । दुइ चारवटा पाटालाईमात्र ध्यान दिएर फिल्म निर्माण गर्दा राम्रो चलचित्र दिन नसकिनेबारे उनले बताए । नेपालको चलचित्र निर्माण प्रक्रियामा ४० प्रतिशतमा सम्झौता गर्नुपर्ने तीतो यथार्थबारे पनि उनले बताए । 

 

नेपालमा अधिकांश फिल्महरू नाटकको तुलनामा कमजोर र फितलो साबित हुन्छन् । यस्तो हुनुलाई उनी मिहेनतको कमी मान्छन । राम्रो स्क्रिप्ट लेख्न कम्तिमा पनि एक वर्ष लाग्ने तर यहाँ एक महिनामा स्क्रिप्ट तयार हुने गुनासो उनले पोखे । यसको साथै सम्पादनको पनि खराब स्थिति भएका कारण फलस्वरुप फिल्म नाटकको जति पनि गहिराइमा पुग्न नसक्ने हुँदा सिनेमा र नाटकको प्रस्तुति फरक फरक हुने उनले बताए । उनको भनाइलाई उद्धृत गरेर भन्नुपर्दा फिल्म र नाटकको तुलना नै हुँदैन । 

 


आफ्ना प्रायः चलचित्र आफै लेख्ने उनी युवा पुस्ताको विचारलाई समेटन सक्ने लेखकको कमी भएको कुरामा सहमत छन् । यस अघि उनले भने, ‘नेपालमा थुप्रै विद्वान लेखकहरू हुनुहुन्छ । फिल्म इन्डस्ट्रीले मागेको खण्डमा उहाँहरू यो क्षेत्रमा आउनुहुन्छ भन्ने विश्वास छ ।’  

 

विगतको तुलनामा आर्थिक या समिक्षाको कोणबाट हेर्दा निकै राम्रा चलचित्र आइरेको हुदाँ चलचित्र उद्योगको भविष्यमा आशावादी देखिन्छन उनी ।  
 

विशेष