नम्रताका प्रेमी दावा भन्छन्, ‘विवाह गर्न जतिबेला पनि तयार छौं’
काठमाडौं । फिल्म ‘प्रसाद’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । बुधबार फिल्मको प्रिमियर शोमा पुगेका नम्रताका प्रेमी दावा शेर्पा पनि फिल्म हेरेर भावुक भएका थिए । त्यसो त आफ्नो प्रेम जीवनबारे धेरै खुलेर नबोल्ने यी जोडिले एक अन्तर्वार्तामा आफूहरू विवाह गर्न जतिबेला पनि तयार भएको बताएका छन् ।
आफ्नो व्यक्तिगत जीवनबारे भन्दा पनि कामको कुरामात्र मिडियामा आओेस् भन्ने चाहना नम्रतामा छ । उक्त अन्तर्वार्तामा उनले प्रेम जीवन एकदमै राम्रो भएको र आफू निकै खुसी भएको बताइन् । एकले अर्कालाई धेरै आदर गर्ने कुरा नै आफ्नो सम्बन्धको बलियो पाटो भएको उनले बताइन् ।
नम्रतालाई ‘प्रसाद’ को प्रचारप्रसार देखि नै एउटा प्रश्नले खुब सताएको छ । त्यो हो विवाह कहिले गर्ने ? यसबारे दावा र नम्रता दुवैले आफूहरू अहिले क्यारियर बनाउन बढी केन्द्रित भएको र सबै काम सकिनासाथ जतिबेला पनि विवाह गर्न सक्ने बताए । नम्रताको राम्रो लाग्ने बानीबारे दावाले भने, ‘नम्रता एकदम नम्र छिन् । उसमा आफूले गरेको काममा अलिकति भएन कि भनेर शंका गर्ने भावना छ । मैले गरेको सबै राम्रो छ भन्ने भावना उसमा छैन । उसको यो बानी मलाई एकदमै मनपर्छ ।’
Namrata Shrestha