विचार

   भ्रान्तिमा विसर्जित क्रान्ति

 संकेत कोइराला

   भ्रान्तिमा विसर्जित क्रान्ति

गौतम बुद्ध कतै गइरहेका बेला एउटा मानिसले हठात् सोध्यो– ‘ईश्वर छ ?’ बुद्धले निमेषभरमै उत्तर दिए– ‘छैन् ।’ दिउँसो अर्को मानिसले सोध्यो– ‘जहाँसम्म मलाई लाग्छ ईश्वर छैन । यसमा तपाईंको के विचार छ ?’ बुद्धको उत्तर थियो– ‘छ ।’ त्यही साँझ अर्को मानिसको जिज्ञासा राख्योे– ‘ईश्वर छन् या छैनन, म त अलमलमा छु । तपाईंले निक्र्योल गरिदिनु पर्‍यो ।’ उसंग तथागतले भने– ‘चुप रह्यौ भने असल हुनेछ– न छ, न छैन् ।’ 

 

बुद्धका तीनथरि भनाइ सुनेपछि संगसंगै हिँडेका भिक्षु आनन्द अघोर आश्चर्यमा परे । रात्रिकालीन सत्संगमा उनले भने– ‘म त पागल भइसकें प्रभु । ईश्वरको सम्बन्धमा विहान तपाईंले भन्नुभयो– छैन... दिउँसो भन्नु भो– छ...., फेरि साँझ भनिदिनु भो– न छ न छैन । ... म के सम्झूँ प्रभु ?’ सुमधुर वाणीमा बुद्धले जवाफ दिए– ‘विहान मलाई प्रश्न सोध्ने मानिस आस्तिक थियो । उ चाहन्थ्यो म उसको हो मा हो मिलाइदिन्छु । उ फगतः आफ्नो सुक्ष्म अहंकारलाई तृप्त गर्न आएको थियो कि बुद्ध पनि त्यही मान्दछन् जुन म मान्दछु । त्यसैले मैले उसलाई भनिदिएँ– छैन् । जसलाई सत्य थाहा छ, उसले अरुको स्वीकृति खोज्दैन । दिउँसो जो मानिस आएको थियो– त्यो नास्तिक थियो । ईश्वर छैन भन्ने उसको ठम्याई थियो । उसलाई मैले भन्नु प¥यो– छ । उसको पनि खोज रोकिएको थियो । उ पनि म बाट नास्तिकताको स्वीकृति लिन आएको थियो । साँझ आएको मानिस न आस्तिक थियो, न नास्तिक नै । उसलाई यी दुवैको बन्धनमा बाँध्नु उचित थिएन । न छ बाधक, न छैन बाधक । त्यसैले मैले भने– चुप रहु न छ न छैन् ।’ बुद्धको भनाइ सुनेर आनन्द चुप भए । 

 

अहिले भगवान बुद्ध प्रकट भएर व्याख्या गरिदिने भए सम्भवतः हाम्रो संघीयताको परिभाषा पनि यस्तै मौसमी हुन्थ्यो होला । केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले यस्तै बेतुकको प्रश्न तेस्र्याउँथे होलान् । सडकले ललकारेर ल्याएको लोकतन्त्र सडकमै द्रौपतीको चिरहरण भएजस्तै विसर्जन हुने अवस्था आउनु भनेको यस्तै स्वीकृति खोज्न शक्तिकेन्द्र धाउनुको परिणति हो । आफ्नो जात, धर्म, संस्कार, संस्कृतिमा विश्वास नभएर पादरी र पास्टरका बाणीमा हराभरा जिन्दगी देख्नेहरुको भीड बढ्दै जानु मूलधार राजनीति आस्था र विश्वासको कसीमा अभैm क्षयीकरण हुँदै जानुको पूर्वाभ्यास हो ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीर्थाटन गराउँदा मन्दिरको गेटमा पुग्ने, मुक्तिनाथको दर्शनमा जाँदा चिसोबाट बचाउन रातो ज्याकेटको प्रबन्ध गरिदिने प्रधानमन्त्री केपी ओलीको मण्डली कमरेडको जत्था बोकेर मुक्तिनाथ मन्दिर टेक्नुलाई कम्युनिष्टवादको पतन भन्ठान्छ । पशुपतिनाथ उच्चारण गर्नुलाई नास्तिकतामाथि बन्चरो प्रहार अथ्र्याउँछ । भारत जाने अवसर आउनासाथ उसका लागि पहिलो रोजाइ बन्छ– चारधाम । अरु कारण त छँदै छन तर व्यवस्था असफल बनाउन यस्ता पाखण्डले स्कोर बढाउनेमा सन्देह छैन । अब आधा दशक पनि पर्खिनु पर्दैन, संघीयताका मुखियाहरु स्वयं यसको पदवी र बर्दी फुकालेर आत्मसमर्पण गर्नेछन् । संघीयता यस्तो काउसो सावित हुनेछ कि यसले मानिसको नैसर्गिक अधिकार छिन्नेछ । सामाजिक अनुशासन र मर्यादामा धावा बोल्नेछ ।  

 


केपी ओलीका लागि अहिलेको लोकतन्त्र जताततै तोरी फुलेजस्तै फुलेको छ । संसारको कुनै शक्तिले गर्न नसकेको काम आपूm नेतृत्वको सरकारले फत्ते गर्छ भन्ने दम्भ छ । त्यतिमात्र हैन, आफूले बोलेका वाक्य ब्रम्हवाक्य हो भन्ने भ्रान्तिले विवेकको भाँडोमा विर्को लगाइदिएको छ । यो दोष ओलीको हैन सत्ता र शक्तिको हो । शेरबहादुर देउवाको नजरमा अहिले लोकतन्त्र फुल्ने बगैंचामा जताततै सिउँडीको बाहुल्य छ । आफू  सत्तामा हुँदा देखेको समतल बाटो अहिले पावरदार चस्माबाट हेर्दा पनि तारेभीर देखिन्छ । काँग्रेसजनभित्रको शायद यही मनोदशा बुझेर बीपी कोइरालाले उतिबेलै दोषीचश्मा कृति लेखेका थिए । प्रचण्डका लागि मौजुदा गणतन्त्र जग्गा दलालले लिने फाइदाजस्तै भएको छ । दलालले किन्ने र बेच्ने दुवैबाट भ्याएजस्तै राजनीतिक चित र पोट दुवैमा दाउ लाउन माओवादी सफल छ । गणतन्त्र नामको डबलीमा उसले हिङदेखि हर्दीसम्मको व्यापार भ्याएको छ । 

 


सपनामा नचिताएको प्राप्तिले दुईचार जनाको तिर्खा मेटिएपनि आम जनताका लागि गणतन्त्र शिरमाथि झुण्डिएको तरबारजस्तै भएको छ । लोकतन्त्रलाई २,४ जनाको बग्गी बनाइँदा त्यो ओली, देउवा र दाहाल टावरमा सीमित भयो । बरु निरंकुश भनिएका शासकहरुले कमसेकम उनीहरुको प्यारीको नाममै किन नहोस् पुतलीसडक बनाए । काकाकुल काठमाडौं भित्र रानी पोखरी खनिदिए । देशको प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय उनीहरुकै नाममा बन्यो । संसारलाई जोड्ने विमानस्थलदेखि गरिबका सन्तानले कम्तिमा खुट्टा राख्ने हिम्मत गर्ने वीर अस्पताल तिनैले बनाए । भनेको पैसा पाए छत पनि बेच्न पाए हुन्थ्यो भन्ने हुटहुटी बढ्न लागेको काठमाडौको मनोविज्ञानभित्र सरापेरै भएपनि रत्नपार्क नै सुस्ताउने अखडा बनिरहेको छ । गणतन्त्रको पीडाले डामिएका जनतामा अब राणा, राजा र पञ्चेलाई सराप्ने सामथ्र्य थोरै पनि बाँकी छैन् । 

 


जुन प्रवृत्ति विरुद्ध आन्दोलन गरिन्छ, आन्दोलन सफल भएको भोलिपल्ट उसैसंग सहभोज शुरु हुन्छ । हो, बेथितिको बीउ यहींबाट रोपिन्छ । संसारका कुनै पनि सफल क्रान्तिपछि क्रान्ति विरोधीलाई चुलो चौकामा बसालिन्न । बरु तिनीहरुलाई सजाय दिइन्छ । समयले उनीहरुको मनमस्तिष्क धोएपछि परिवर्तित राजनीतिको भावधारामा बग्ने अवसर पाउनु अलग विषय हो । लोकतन्त्र समर्थक भनेकाहरुले जिन्दगीभर सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, कमल थापाहरुलाई शत्रु देखे । यिनीहरुको पतन भएका दिन आफ्नो उत्थान हुने सपना पाले । आखिर परिवर्तन भयो । तर दुर्भाग्य परिवर्तनको आधा दशक नवित्दै तिनै व्यक्तिहरु देशको कार्यकारी हुन पुगे । लोकतन्त्र सत्ता र लाहुरेको भर्ती होइन भन्ने आत्मज्ञान कहिल्यै प्रवाहित भएन् । प्रचण्ड र कमल थापाको चुलौचोको एउटै हुनु रहेछ भने क्रान्तिको जामा लगाएर त्यत्रा मानिसमाथि तरबार किन चलाउनुपथ्र्यो ? सम्भवतः यो प्रश्नको उत्तर स्यालको सिङ पाउनुभन्दा कठिन छ । विरालो जुन रङको भएपनि उसको सामथ्र्य मुसा मार्नुमा भएजस्तै जुनसुकै दलका नेता भएपनि राजनीतिक धन्दा फस्टाएको आधारमा उनीहरुको वजन निर्धारण हुने गर्छ ।  

 


जनउत्तरदायी सरकारको मातहत रहेको सेनाको बिजुली गारत दरबारलाई बुझाउनु हुँदैन, त्यसले तपाईंहरुलाई नै सिध्याउँछ भन्ने मोहनशम्शेरको अर्ती बीपीले नमान्दा आखिर त्यही सानो गाँठो मुलुककै प्राणमा जिन्दगीभर घाँडो सावित भयो । लोकतन्त्र विश्वास, सुरक्षा र अनुशासनको त्रिवेणी हो भन्ने मान्यता एकछिन पनि मुलुकमा स्थापित हुन सकेन् । एकथरिले खाएको देखेर अर्को थरिलाई भाउन्न भएर सडकमा निस्किएर उपद्रो मच्चाउने अनि त्यसलाई शान्त पार्न भएको सम्झौतालाई क्रान्ति भनिदा त्यो क्रान्तिले कसैलाई धोका दिनबाट बाँकी राखेन् । मुलुकका हरेक क्रान्ति पाँचसय परिवारभन्दा माथिकाले उपयोग गर्न पाएनन् । लोकतन्त्रमा तिनै टाठाबाठा रमाए । कुखुराको भाले जसरी गरिबका छोरा लडाएर, भिडाएर तमासा हेर्ने काममा तिनीहरु नै अगाडि देखिए । 

 


लोकतन्त्रको पहिलो सर्त भनेको समभाव हो । पोसाक एउटै लाएर समानता आउँदैन् । यसो हुँदो हो त फौजीमा जुनियर डग र सिनियर गडको मान्यता स्थापित हुने थिएन् । सिंहदरबारमा सरकारी कर्मचारीले पनि समान पोसाक त लाएका छन् । तर हेराइ झन्झन् भिरालो पर्दै गएको छ । दृश्यमा कर्मचारी देखिएपनि तिनीहरुमा दलीय प्रतिनिधिको राग बढी छ ।  हामीले खोजेको परिवर्तन भनेको ठूला गाडीहरु सिंहदरबारभित्र पसुन । त्यो गाडीको अघिल्लो सिटमा सचिव, दोस्रोमा सहसचिव, तेस्रोमा उपसचिव हुँदै अन्त्यमा कार्यालय सहायक बसुन् । कार्यालयमा आज सम्पादन हुने कामको बैठक त्यहीं सकियोस् । एकले अर्कालाई हाकिम हैन, साथी हो भन्ने हार्दिक भावना विकास होस् । तर त्यतातिर जाने त परै जाओस् सोच्नु पनि अपराधजस्तो ठानियो । यस्तो विचार राख्नेहरु आफ्नै समूहमा अपमानित भए । सिंहदरबारमा परेको असिनापानीले जनताको बाली नास गर्ने नै भयो ।

 

 

 फलस्वरुप ५० डिग्री तापक्रममा उँटको लिदी सोरेर पठाएको पैसा पनि आइफोन, टीभी, भिडियो जस्ता सामान किन्नमै सकिने गरेको छ । सिंहदरवारको यही बेथितिले हिउँ जस्तो कलकल पानी बग्ने ठाउँका नेपालीहरु पनि मिनरल वाटर, कोकाकोला र इनर्जी ड्रिंकका भोगी भएका छन् । कोकका बोतलका सवै पैसा विदेशीका हुन भन्ने हेक्का राज्यले दिन उचित ठानेन । किनकी हाम्रो राजनीतिले आफ्नो यात्रा तिनीहरुलाई रोक्ने हैन, बोक्ने तर्फ  तय गर्‍यो । गाडीमा राष्ट्रिय झण्डा हल्लाए पनि एउटा अमूक व्यक्ति या शक्तिले कोरिदिएको रोडम्याप बोकेर मन्त्री बन्ने क्रम शुरु भयो । त्यसपछि त के थियो र ? एउटा मन्त्री र खेतालाको अन्तर खुटिन छोड्यो । विश्व चलाउने अमेरिकी राष्ट्रपति  डोनाल्ड टम्पले एक कप चिया पिउँदा सुरक्षा सल्लाहकार, टेनिस खेल्दा राजनीतिक सल्लाहकार र ब्रेकफास्ट गर्दा आर्थिक सल्लाहकारसंगको बैठक भ्याउँदा नेपालका भीभीआईपी, भीआईपीहरु एउटा खादाको लोभमा मेची महाकाली घुमिरहेका छन् । खुर्सानी पिरो, चिनी गुलियो र नून नुनिलोको तर्कमा चौबीस घण्टा मिल्काइरहेका हुन्छन् ।  

 


लाखौं छन् क्रस भिर्नेहरु तर अर्को ईशा आउन सकेन । गेरु वस्त्र पहिरिनेहरु लाखौं छन् तर बुद्ध अर्को बन्न सकेन । सबै बनबास जाने र स्वास्नी त्याग्नेहरु राम भएनन् । हातमा मुरली बोकी नाच्नेहरु त भए– कोही निस्किएन कृष्ण । बेलायतमा शेक्सपियर एउटै भए । सिंगो नै भए बर्नाड शा । समयको सदुपयोग नै जीवनको सदुपयोग हो । चेतनासंगै चिन्ता छ । कल्पनासंगै भावुकता छ । बुद्धिसंग तर्क र ज्ञानसंगै बैराग्य बाँचेको छ , महात्मा गान्धीले कन्जरभेटिभ पनलाई माया गरे । आखिर ब्रिटिस सानलाई त्यही साद्गीले झुकायो । काँचुली फेरियो सर्प उस्तै छ । प्रत्येकले भोग्ने जीवनको स्वाद उस्तै लागेपनि अनुभूति अलग हुन्छ । सरकारलाई त्यस्तो कार्यमा मात्र हस्तक्षेप गर्ने अधिकार छ, जुन कार्यले अधिकांश जनतालाई नराम्रो असर गर्ने सम्भावना छ ।  यदि मेरो छिमेकी ईश्वर बीस वटा छन या छँदै छैनन् भन्छ भने यसले न सरकारको पाकेट काटिन्छ, न खुट्टा भाँचिन्छ । यो सत्ताभन्दा बाहिरको व्यक्ति चेतना हो । 

 


प्रथम विश्वयुद्धको समयमा अधिकांश वैज्ञानिकहरुले जर्मनी छोडे । रोन्टजनले देश छोडेनन् । युद्धका कारण जर्मनी धेरै जीर्ण भएको थियो । ७३ वर्षीय रोन्टजन पौष्टिक आहारको अभावमा कमजोर बन्दै गए । उनको यस्तो अवस्था थाहा पाएपछि नेदरल्याण्डका केही साथीहरुले उनलाई चिनी, दूध, घिउजस्ता पौष्टिक पदार्थ पठाइदिए । तर रोन्टजनले ती सवै खानेकुरा छिमेकीलाई बाँडिदिए । किन त ? उनको तर्क थियो– छिमेकीहरु भोकमरीको शिकार भइरहेका बेला एक्लैले खान खोज्नु निकृष्ट काम हो ।


 

विशेष