पुष्पनले अमितलाई भने, ‘दर्शकले दिएको मायाको सम्मान गर्ने समय सुरू भयो’
काठमाडौं । गएरातीको नेपाल आइडलको एपिसोडमा अमित बराल आउट भएका छन् । वर्षौं अघिको ‘पन्छी’ बोलको पुष्पन प्रधानको गीतलाई उनले नेपाल आइडलको मञ्चबाट चर्चित बनाइदिए । गीतसँगै पुष्पनको चर्चा पनि चुलियो । कुनै समय आफ्नो गीत बजाइदिनका लागि मिडियाको ढोका गुहार्दै हिँड्ने पुष्पनको खोजी व्यापक रूपमा हुन थाल्यो ।
अमितले उक्त गीत गाएर नेपाल आइडलको स्टेजलाई स्तब्ध बनाइदिएका थिए । यसको साथै देश तथा विदेशबाट पनि उनले थुप्रै स्याबासी पाए । उक्त एपिसोड पछि अहिले अमित र गायक पुष्पन प्रधानको नाता झाँगिएको छ । अमितसँगको सम्बन्ध अब पारिवारिक नातामा बाँधिएको पनि पुष्पनले एक अन्तर्वार्तामा बताए ।
नेपाल आइडलबाट बाहिरिए पनि अमितलाई आफूले थप हौसला दिइरहेकोबारे पुष्पनले उक्त अन्तर्वार्तामा बताए । हौसला दिने क्रममा पुष्पनले अमितलाई भने, ‘एउटा जितले संसार जितिदैंन र एउटा हारले संसार हारिदैंंन । कति स्रष्ठाहरुले कति दुःख गरेर पनि चर्चा पाएका छैनन् । त्यसैले हार खानु हुँदैन ।’ यसका साथै उनले अब अमितले दर्शकले दिएको माया र साथको सम्मान गर्नुपर्ने समय आएको पनि बताए ।