खेल

ईपीएलमा ललितपुरको पहिलो जित, सन्दीप र सोनुको उत्कृष्ट प्रदर्शन 

ईपीएलमा ललितपुरको पहिलो जित, सन्दीप र सोनुको उत्कृष्ट प्रदर्शन 

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिएटसले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो । 

 

ललितपुरले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो।

 

चितवनका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। ४५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तान पृथु बाँस्कोटाले २६ रन बनाउँदा भीम शार्कीले २१ रन बनाए।

 

ललितपुरलाई पहिलो जित दिलाउन सन्दीप लामिछाने र सोनु तामाङले उत्कृष्ट प्रदर्शन गरे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो।


सोनुले २४ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै नट आउट रहेका थिए। यस्तै सन्दीप जोरालेले आक्रमक ब्याटिङ गर्दै ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा नट आउट रहेका थिए।


त्यस्तै, ललितपुरका लागि गौरभ टोमरले ३०, जयकिसन कोल्सवालाले २० र सुन्नी पटेलले १९ रनको योगदान दिएका थिए ।


बलिङतर्फ चितवनका लागि जर्ज स्कटले २ विकेट लिँदा पाउल स्टर्लिङ, कमलसिंह ऐरी र ललितसिंह भण्डारीले एक/एक विकेट लिएका थिए। प्रतियोगितामा म्यान अफ दि म्याच सन्दिप लामिछाने भए।

आइतबार नै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजबीच केही बेरमा प्रतिस्पर्धा हुनेछ ।

विशेष