अाज उद्घाटन हुने चमेलिया यसरी शृंगारियाे (फोटो फिचर)
- उद्धब सिंह धामी
दार्चुला । सरकारी लगानीबाट निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाको अाज शनिबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिने भएको छ । प्रदेश नम्बर ७ को अहिले सम्मकै ठुलो आयोजनाको रुपमा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने कार्यक्रम तालिका बनेपछि आवश्यक तयारीका लागि गृह मन्त्रालयबाट आयोजना स्थलमा सबै सुरक्षा प्रबन्ध मिलाइ सकिएको छ । साथै जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी युनिटबाट ७३ जना प्रहरी, १५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी आयोजना स्थलमा खटिएका छन् ।
आयोजनाले विद्युत् उत्पादन थालेदेखि नै सशस्त्र डिएसपी श्यामणी ढकालको नेतृत्वमा ५० जना शसस्त्र प्रहरी टोली सुरक्षार्थमा खटिएको छ । त्यस्तै ४० जना नेपाली सेना पनि परिचालन गरिने छ दुर्गादल गुल्म दार्चुलाका गुल्मपती सेनानी सन्तोष गुरुङले बताए ।
तस्वीर: उद्धब सिंह धामी,दार्चुला
शुक्रबारै प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहन राज मल्ल, ऊर्जा सचिव कुमार उपाध्यय, क्षेत्रिय प्रशासक लक्ष्मी पौडेल लगायतको टोली आजै आयोजना स्थलमा पुगेको छ । त्यसैगरी जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सशस्त्र डिएसपी अम्बिका जोशी, प्रहरी डिएसपी जनक बहादुर शाही लगायतको टोली पनि हिजै आयोजना स्थल पुगेको छ ।
त्यस्तै प्रदेशसभा सदस्य मानबहादुर धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामी समेत आयोजना स्थल पुगेका छन् । त्यस्तै दुहू गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, कांग्रेस सभापति ललित बोहरा पनि आयोजना स्थल बलाँच पुगीसकेका छन् ।
तस्वीर: उद्धब सिंह धामी,दार्चुला
२००७ सालदेखि निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको उद्घाटन शनिबार विहान साढे ११ वजे गरिने आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा र अर्का मन्त्री जयन्त चन्द पनि चमेलियाको उद्घाटनका लागि दार्चुलाको बलाँच आउन लागेका हुन् ।
शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो ।
सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत समेत बढेको छ । आठ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब १६ अर्ब रुपैयाँ गुमाउन पुगेको छ ।
प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन हुने
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार गर्ने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्ने उनले बताए।