खेल

ईपीएलको अर्को संस्करण अझै भव्य हुने, विदेशी खेलाडी पनि ल्याइने

ईपीएलको अर्को संस्करण अझै भव्य हुने, विदेशी खेलाडी पनि ल्याइने


काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल)को अर्को संस्करण अझ भव्य हुने दाबी आयोजकहरुले गरेका छन् ।


गत डिसेम्बर १८ देखि ३० सम्म भएको प्रतियोगिताको समीक्षात्मक पत्रकार सम्मेलनमा बुधबार ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले पुरस्कार रकम, सहभागी खेलाडी तथा दर्शक व्यवस्थापनको दृष्टिकोणबाट अझ भव्य बनाइने बताए ।

उनले अर्को संस्करणमा प्रतियोगिताको पुरस्कारको राशि समेत बढाइने बताए । विजेता टोलीका साथै व्यक्तिगत विधामा उत्कृष्ट ठहरिने खेलाडीले पाउने पुरस्कार रकममा समेत आउने संस्करणमा वृद्धि गरिने प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।

‘अर्को वर्ष प्रतियोगिताको विजेता टोलीले पाउने रकममा अवश्य पनि वृद्धि गरिनेछ’, उनले भने, ‘त्यसका साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीले पाउने पुरस्कारमा पनि वृद्धि हुनेछ । यसपटक सर्वोत्कृष्ट खेलाडीले दुईपांग्रे पाएका थिए । अर्को वर्ष चारपांग्रे हुन सक्नेछ ।’

उनले भने प्रतियोगितामा राम्रा विदेशी खेलाडी ल्याइने पनि बताए । उनका अनुसार अर्को संस्करणमा अस्ट्रेलिया, इङ्ल्यान्डलगायत देशबाट पनि राम्रा खेलाडी ल्याइने बताएका छन् । ‘गत वर्ष केही कारणले गर्दा इङ्ल्यान्ड, अस्ट्रेलियाबाट खेलाडी आउन पाएनन् ।

अर्को संस्करणमा भने हामी ती देशहरूबाट पनि खेलाडी ल्याउने प्रयास गर्नेछौं’, प्रबन्ध निर्देशक अख्तरले भने, ‘अन्य देशहरूबाट पनि यस पटकको भन्दा राम्रा र अनुभवी खेलाडी ल्याउनेछौं ।


प्रबन्ध निर्देशक अख्तरले यसपटक देखिएका कमीकमजोरीलाई अर्को संस्करणमा सुधार गरिने पनि बताए । विशेष गरी उनले फाइनल खेलमा दर्शकलाई सहज रूपमा मैदान प्रवेश गराउन कठिनाइ बेहोर्नु परेको स्मरण गर्दै आगामी संस्करणमा त्यसलाई सुधार गरिने बताए । प्रतियोगिताको मिति भने पछि नै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पहिलोपटक राजधानीमा खेलाडी अक्सनसहित विदेशी खेलाडीसमेत समावेश गरी सञ्चालित प्रतियोगिताको उपाधि पारस खड्को कप्तानीमा रहेको विराटनगर वारियर्सले जितेको थियो । विराटनगरले फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्सलाई पराजित गरेको थियो ।

आयोजकले यसै वर्ष आयोजना हुने आगामी संस्करणका लागि ‘ईपीएल २०१७ वाज द बिगेस्ट, ईपीएल २०१८ विल बी बिगर’ भन्ने नारासमेत सार्वजनिक गरेको छ ।

विशेष