सौगातले किन यसो भने ?
काठमाडौं । नायक सौगात मल्ल अभिनीत नयाँ फिल्म ‘पञ्चेबाजा’ फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यस वर्ष सफल फिल्मको नाम आफ्नो लिस्टमा इन्ट्री गर्न नपाएका सौगातले ‘पञ्चेबाजा’ बाट आशावादी रहेको बताएका छन ।
‘गाउँले कथामा फिल्म बनेको छ । म फरक भूमिका गर्न रुचाउने मान्छे । यो फिल्ममा पनि केही फरक गर्ने प्रयास गरेको छु ।’ सौगातले भनेका छन् । उनले बिहीवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा ‘पञ्चेबाजा’ आफ्नो वास्तविक जीवनसँग नजिक रहेको पनि बताएका छन् ।
थिएटर हुँदै फिल्ममा प्रवेश गरेको सुनाउदै उनले फिल्ममा पनि थिएटरको एक कलाकारको भूमिका ’प्ले’ गरेको बताएका छन् । फिल्मकी नायिका जस्मिन श्रेष्ठले ‘पञ्चेबाजा’ आफ्नो महत्वकांक्षी प्रोजेक्ट रहेको बताइन् ।
निर्देशक घनश्याम लामिछानेले फिल्ममा एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको बताए । सारा गुरुङ सहनिर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।