रुकुममा एक महिलाको मृत्यु, नेता जनार्दन शर्मालाई अपजश्
नेता जनार्दन शर्माप्रति गाउँलेहरुको आक्रोश
काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा (प्रभाकर) उर्जामन्त्री छँदा ‘लोडसेडिङमुक्त राजधानी’ बनाएर चर्चामा छन् । उनी निर्वाचित बनेको दुर्गम जिल्ला रुकुमको अवस्था भने दर्दनाक छ ।
पूर्वी रुकुमस्थित पुथा उत्तरगंगाकी लोबै बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको छ । ३१ वर्षे लोबैलाई एपेन्डिक्सको समस्याका कारण गत २७ गते अस्पताल दौडाइयो ।
सडक नहुँदा दुई दिनको बाटो हिँडाएरै उनलाई उपचारका लागि दौडाइएको थियो । तर काठमाडौंसम्म ल्याउन नै ३ दिन लागेपछि अस्पताल पुर्याइए पनि उपचार हुन नसकेपछि मृत्यु भएको हो ।
यस्तो घटनालाई गाउँलेहरुले सडक र अस्पतालको अभावसँग तुलना गरेर हेरेका छन् । मृतकका आफन्तले पनि दुख व्यक्त गर्दै सडक अभावका कारण यस्तो घटना भएको बताएका छन् ।
नेता जनार्दन शर्मा
माओवादीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माकै गृहजिल्लामा सामान्य उपचार गर्न नपाएर बिरामीहरुको मृत्यु हुने कुरालाई उनीहरुले राज्यको कमजोरी ठानेका छन् ।
उत्तरगंगास्थित मृतकका एक आफन्तले सोधेका छन्, ‘जनार्दन शर्माले अघिल्लो चुनावमा नै भोट माग्दा बाटो र अस्पताल बनाइदिने बाचा गरेका थिए । तीन पटक जितिसके । तर अवस्था उस्तै छ ।’ उनी आक्रोशित हुँदै भने, ‘लोबैको मृत्यु हुनुको अप्रत्यक्ष कारण जनार्दन शर्मा पनि हुन् ।’
यदी उक्त स्थानमा अस्पताल वा सहज सडक भइदिएको भए उनको एपेन्डिक्सको उपचार भएर ज्यान बच्न सक्थ्यो । तर सडक अभावकै कारण यस्तो अवस्था भएको भन्दै गाउँलेहरु चिन्तित् छन् ।
लोबैको मृत्यु काठमाडौंको बिएन्डबी अस्पतालमा शनिबार भएको हो । यद्यपि उनका गाउँलेहरुले आफ्ना जनप्रतिनिधिहरुको चुनावी नारासँग यो घटनालाई जोडेर ब्याख्या गरेका छन् ।
सोही क्षेत्रका जनप्रतिनिधि जनार्दन शर्मा भने चुनावपछि गाउँ पुगेका छैनन् । न त मृतकको घटनाबारे दुख व्यक्त नै गरेका छन् । शर्मालाई भने गाउँलेहरुले प्रश्न गरिहरका छन् ।
‘यदी अस्पताल वा सडक भइदिए यो अवस्था आउने थिएन’ भन्दै उनीहरुले शर्माप्रति गुनासो गरिरहेका छन् । लोबैको मृत्युको अपजश् जनार्दश शर्माको प्रत्यक्ष रुपमा नभए पनि घुमाउरो रुपमा उनले यस घटनाप्रति दुख व्यक्त गर्नु नैतिकता नै देखिन्छ ।
किनकी, अघिल्लो चुनावमा समेत उनले गाउँलेसँग मत माग्दा अस्पताल, बाटो बनाइदिने आश्वासन दिएका थिए । तर बाटो र अस्पताल नभएकै कारण सामान्य उपचार समेत हुन नसक्दा एक महिलाको मृत्यु भयो ।
विदेशमा रहेका उनका दाजुले समेत भावुक हुँदै एक पत्र फेसवुकमा लेख्दै चिन्ता व्यक्त गरेका छन् । उनी लेख्छन्ः ‘जब यसरी बिरामीलाई अस्पताल लगिदै गरेको दृश्यहरु देख्छु तब यो देशको ब्यबस्थालाई सम्झिन्छु । यो ब्यबस्था भित्र हामी जस्तो मान्छेहरुको अबस्थालाई सम्झिन्छु । हाम्रो गाउँघरमा एम्बुलेन्स गुड्ने दिन कहिले आउला रु हाम्रो टोलमा एउटा मेडिकल कहिले खुल्ला र रु
अनि तिमी जस्तो बहिनिहरुले अल्पआयुमै जीवन गुमाउने अबस्था आउने थिएन । तिमी यो देशको कुनै नेताको श्रीमती, छोरी वा बुहारी हुँदी हो त, विमान चार्टर गरेर बिदेशमा उपचार गर्न जाने थियौ । के गरौं त, हाम्रो अबस्था यस्तै छ ।
जमिनमा सडक पुगेको छैन । आकाशमा हेलिकप्टर चार्टर गर्न पनि सक्दैनौं । त्यसैले तिमिलाई अस्पताल समयमा पुर्याउन सकिएन सायद । आफ्नो दूध चुस्ने वालकलाई छोडेर अलप भयौ ।
हार्दिक श्रद्धाञ्जली प्रिय बहिनी ।’