समाज

युवातीहरु किन गोप्य अंगमा ट्याटु खोपाउँछन्

युवातीहरु किन गोप्य अंगमा ट्याटु खोपाउँछन्

मान्छेले ‘ट्याटु’ खोप्नुको कारण धेरैलाई लाग्दो हो– ‘सो अप’ अर्थात् देखाउनका लागि । देखाउनकै लागि हो भने मान्छेले झट्ट हेर्दा नदेखिने ठाउँमा किन खोप्छ त ? खासगरी सहरी युवतीहरुमाझ गोप्य अंगमा ट्याटु खोप्ने चलन बढ्दो छ ।

 

मनोविद् करुणा कुँवरका अनुसार शरीरको देखिने÷नदेखिने जस्तो ठाउँमा ट्याटु खोप्नेको पनि मनोभावना त आफ्नो पहिचानलाई चित्रित गर्ने नै हुन्छ । कतिपयले सबैले देख्नेगरी चित्रित गर्छन्, कसैले सबैलाई देखाउन चाहँदैनन् । कतिपयले खुल्ला पहिरन लगाउँदा मात्र देखिने गरी ट्याटुु खोपेर आफ्नो यौनिकतालाई चित्रित गर्न खोजिरहेको पनि हुनसक्छ ।

 

गोप्य ठाउँमा ट्याटु खोपाउने महिलाहरुले आफूलाई ‘सेक्सी’ र ‘सुन्दरी’ छु भनेर आत्मविश्वास प्रमाणित गर्न खोजिरहेको हुनसक्ने उनको अनुमान छ ।

 


काठमाडौं, चावहिल बस्ने सलिना लामाले ‘हुनेवाला श्रीमानलाई सरप्राइज दिन,’ भन्दै यौनाङ्गकोको छेउमै ‘बटरफ्लाई’को ट्याटु खोपाएकी छन् ।

 

शरीरको गोप्य स्थानमा ट्याटु खोप्नेहरुले पनि ‘ट्याटु’लाई सधैँ गोप्य राखिरहन चाहँदैनन् । ललितपुर, सातदोबाटोमा डान्स सेन्टर चलाइरहेकी मेघना मगरले शरीरका तीन ठाउँमा ट्याटु खोपेकी छन् । ‘कुममा खोपेको ९ वर्ष भयो, हिपमा ४ वर्ष र खुट्टामा तीन वर्ष,’ उनलाई ट्याटु खोपेको समय स्पष्ट याद छ । ‘हिपमा पाठेघर, कुममा जापानी गुलाफ र खुट्टामा मेरै डान्स सेन्टरको लोगो खोपेकी छु,’ उनले सुनाइन्, ‘मैले चाहेको बेला मात्र देखियोस् भनेर नदेखिने ठाउँमा खोपेकी हुँ । सधैँ देखियो भने त ‘भ्यालू’ पनि हुँदैन नि ! देखिँदा पनि हल्का देखियोस्, देख्नेलाई पनि यसको शरीरमा ट्याटु रहेछ तर के रहेछ भन्ने कौतहुलता होस् न भन्ने लाग्छ ।’

 


आफूले खोपेको प्रत्येक चित्रको अर्थ रहेको बताउने उनले मान्छेको ध्यान आफूतिर खिच्न नै ट्याटु खोपाएको बताइन् । ‘अब छातीको अगाडि अर्थात् बेली एप्समा खोप्ने चाहना छ, चाँडै खोपाउँछु,’ उनले ट्याटु योजना सुनाइन् ।

 

काठमाडौं, सामाखुसीकी रेणु पौडेलले पनि आफ्नो स्तनमा ‘लभ’ लेखिएको ट्याटु खोपाएकी छन् । ‘खोप्न त हातमा मन थियो तर घरमा ट्याटु खोपेको मन पराउँदैनन्, त्यसैले यहाँ (स्तन) खोपेकी हुँ,’ उनले बताइन् ।

 


करिब १४ वर्षदेखि ट्याटु खोप्न थालेका काठमाडौं, ठमेलका स्वस्तिक ट्याटुका ट्याटुकार सञ्जय खड्गी घरबाट अनुमति नमिल्ने भएकाले धेरै युवतीले नदेख्ने ठाउँमा खोपाउने गरेको बताउँछन् ।


‘ट्याटु खोपाउनेहरुको चाहना कमसेकम साथीहरु माझमा पुग्दा देखाउन पाइयोस् भन्ने हुन्छ, कोही आफ्नो स्पेसल मान्छेले मात्र देखोस् भन्ने चाहना राखेर पनि खोप्छन् होला,’ उनले बताए ।

 

ट्याटु त आकर्षक देखाउनका लागि खोपिनुपर्ने हो तर युवतीहरुले किन छोपिने गरी हान्छन् ? धरानका व्यस्त ट्याटु आर्टिस्ट विमल राईका अनुसार डरले वा संकोचले पनि जसलाई देखाउनुपर्ने हो उसैलाई मात्र देखाउनको लागि गोप्य अंगमा ट्याटु खोपाउने चलन बढ्दो छ ।

 

युवतीहरुले तिघ्रा, पाखुरा, पिँडुला, स्तनदेखि योनि छेउछाउका भागतिर ट्याटु खोप्ने गर्नुको कारण युवाहरुलाई आकर्षित गर्नु रहेको उनको बुझाइ छ ।

 

विशेष