खेल मुख्य समाचार

नेपाल भर्सेस क्यानडा: के हाेला नेपाली टिमलार्इ चुनाैती ?

नेपाल भर्सेस क्यानडा: के हाेला नेपाली टिमलार्इ चुनाैती ?

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलले नेपालको भविष्य निर्धारण गर्दैछ । नेपालको अगाडिको ढोका खोल्नका लागि लिग चरणको अन्तिम खेलमा क्यानडालाई जित्नैपर्ने हुन्छ ।

 

नामिवियामा जारी डिभिजन टु को अन्तिम खेल नेपालका लागि फाइनलभन्दा बढी महत्वपूर्ण छ । किनभने बुधबार हुने खेलमा क्यानडालाई हराए नेपाल डिभिजन टु को फाइनलमा मात्रै होइन, विश्वकप छनोटमा पनि प्रवेश गर्नेछ ।

 

यदि क्यानडासँग पराजित भए नेपाली क्रिकेट फेरि पछि धकेलिन सक्छ । त्यसैले नेपालसामु क्यानडालाई पराजित गर्दै अघि बढ्ने सुनौलो अवसरको साथै चुनौती पनि छ ।

 

ब्याटिङ सुधार्न आवश्यक
नेपाली क्रिकेट टिमले नामिविया प्रस्थान गर्दासम्म पनि सोचेको थिएन, नेपालको ब्याटिङ यसरी खस्किन्छ । जारी डिभिजन टु मा नेपालले लिग चरणको ४ खेल खेलिसकेको छ, जसमा ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ । जारी प्रतियोगितामा बलिङ उत्कृष्ट भइरहेको बेला ब्याटिङ भने बिर्सनलायक बनेको छ ।

नेपालको अगाडिको यात्रा क्यानडासँगको खेलले निर्धारण गर्नेछ । क्यानडालाई पराजित गर्न नेपाली ब्याट्सम्यान चल्नैपर्छ ।

 

यसमा पूर्वकप्तान विनोद पनि सहमत छन् । उनी भन्छन्, “नेपाल कुनै पनि टिमलाई हराउने क्षमता राख्छ । नेपाल डिभिजन वानको टिम हो । हामी आफ्नो क्षमता अनुसार खेल्यौं भने क्यानडालाई हराउन सक्छौं । त्यसका लागि हामीले ब्याटिङ सुधार्नैपर्छ ।”

 

हारे के हुन्छ ?
जारी डिभिजन टु को शीर्ष स्थानमा क्यानडा रहेको छ । क्यानडाको ४ खेलबाट ३ खेलमा जित र एक खेलमा हारसहित ६ अंक रहेको छ भने नेपालले पनि समान खेलबाट ३ मा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ ।

बुधबार हुने यी दुई टिमको विजेता डिभिजन टु को फाइनलमा प्रवेश गर्दै विश्वकप छनोटमा पुग्नेछ भने पराजित टोली डिभिजन टु मै रहने निश्चित जस्तै छ । लिग चरणको अन्तिम अन्य खेलमा नामिवियाले युएईको सामना गर्दैछ । यो खेलले पनि डिभिजन टु को फाइनलमा पुग्ने टिमको छिनोफानो गर्नेछ ।

 

नेपाल भर्सेस क्यानडा
क्यानडा र नेपाल अहिलेसम्म २ पटक आमनेसामने भएका छन् । दुई खेलमध्ये क्यानडाले पहिलो खेलमा जित हात पारेको छ भने एउटामा नेपालले बाजी मारेको छ । सन् २०१४ मा विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो ।

जित नजिक पुगेर पनि पराजित भएको नेपाल क्यानडासँगको पहिलो भेटमा नै त्यतिबेला निरिह बनेको थियो । तर, सन् २०१५ मा नामिवियामै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले क्यानडालाई ७ विकेटले पराजित गर्दै पहिलो भेटमा पराजित भएको बदला पनि लिएको थियो ।

 

विशेष