नेपाल र यूएईबीच उपाधिका लागि आज भिडन्त
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका आज नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ । नामिबियाको एन्डर्स मैदानमा दिउँसो सवा एक बजेबाट खेल सुरु हुनेछ ।
नेपाल र यूएईबीच यस प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको लिग चरणमा भएको खेलमा नेपालले यूएईलाई चार विकेटले पराजित गरेको थियो ।
३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले एक सय १४ रन जोडेको थियो । कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो ।
समूह चरणको बुधबार भएको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल यो जितसँगै लिगको शीर्ष स्थानमा रहन सफल भएको हो । बुधबारै भएको खेलमा आयोजक नामिबियालाई पराजित गरेको यूएई भने लिगमा दोस्रो बनेको छ ।
पाँचमध्ये चार खेलमा जित निकाल्दै नेपालले आठ अंक जोडेको छ । पाँचौं खेलमा क्यानडालाई पराजित गरेको नेपालले पहिलो खेलमा नामिबिया, तेस्रो खेलमा यूएई र चौथोमा केन्यालाई हराएको थियो । नेपालले दोस्रो खेलमा भने ओमानसँग हार बेहोरेको थियो ।
दोस्रो स्थानको यूएईले ६ अंक जोड्को छ । यूएईले ६ अंक जोडेका तेस्रो स्थानको क्यानडा र चौथो स्थानको नामिबियालाई रनरेटमा पछि पारेको हो । पाँचौं स्थानमा रहेको ओमानले दुई जित निकाल्दा केन्याले समूहचरणका पाँचौं खेलमा पनि हार बेहोरेको छ ।