समाज

सिरहाखण्डको हुलाकी सडक निर्माण कार्यले पायो तीव्रता

सिरहाखण्डको हुलाकी सडक निर्माण कार्यले पायो तीव्रता

हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ ।

 

पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ ।

 

दुई लेनको उक्त सडक कालोपत्र गर्न एक अर्ब २० करोड २० लाख रुपैयाँमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिए । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै निर्माण पूरा हुने उनको भनाइ छ । 

 

हुलाकी सडक निर्माणको काम सुरू भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । सडक निर्माण भए मधेशको विकासले गति लिनाका साथै हजारौँ युवाले रोजगारी पाउने स्थानीयवासीको भनाइ छ । यसअघि सो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका थिए ।

 

निर्माण सुरू भएसँगै सडकभित्र पर्ने रुख काट्न थालिएको छ भने सडक किनारामा बनाइको घर छाप्रो धमाधम हटाउन थालिएको छ । सडकमा माटो हाल्ने काम भइरहेको छ भने कतिपय ठाउँमा पुल नहुँदा समस्या भएको सडक निर्माणमा खटिएका प्राविधिकले बताएका छन् ।

विशेष