अल्पदृष्टि भएका किसानको संघर्षः अण्डाको भारी बोकेर १६ किमि बाटो हिँड्छन् सधैँ
पोखरा । हातमा सेतो छडी, पिठ्युँमा अण्डाको भारी अनि १६ किलोमिटरको दूरी छिचोल्दै अण्डा बेच्न हिँड्नु सितिमिति पक्कै होइन । त्यसमा पनि अल्पदृष्टि भएका मान्छेका लागि ।
कास्की घाचोकका रामप्रसाद भण्डारीको वास्तविक तर जटिल जीवनशैली हो यो । दैनिक साढे सात हजार मूल्यको अण्डाको भारी बोकेर १६ किमिको यात्रा गर्छन् । जसमा उनको सहयात्री सेतो छडी बनेको छ ।
१० वर्षदेखि यो पेसामा संलग्न उनी पोखराको सिमपानीसम्म पुगेर अण्डा किन्छन् अनि त्यो अण्डा बेच्न हेम्जादेखि घाचोकसम्म करिब १६ किमि हिँड्ने गर्छन् ।
५१ वर्षीय भण्डारीलाई अल्पदृष्टि हुनुले अण्डा बोकेर हिँड्नेजस्तो संवेदनशील काममा अण्डा फुट्लान र कमाइ नहोला भन्नेमा कत्ति पनि अविश्वास छैन । बरु उनी हिम्मत भए कुनै काम गर्न केहीले पनि नछेक्ने बताउँछन् ।
विगत १० वर्षदेखि निरन्तर यस पेसामा छन् उनी । शरिरले नसक्ने भएपछि भने धुपबत्ति बेच्ने काम गर्नसक्नेमा आशावादी छन् ।
यति लामो यात्रा गरेर अण्डा बेच्नुभन्दा अरू सजिलो पेसा रोजेर गरेको भए हुन्थ्यो होला नि भनी प्रश्न राख्दा उनी भन्छन्, ‘अरू नै केही गर्न खोज्दा दृष्टि कमजोर भयो अनि सकिएन ।’
अण्डा बेच्नुभन्दा अघि स्कुलका पियन रहेका उनी मासिक तीन सय कमाउँथे । उक्त पैसाले जीवन निर्वाह नहुने नदेखेपछि भारी बोक्ने काममा लागेको उनले बताए । तर, भारी बोक्ने काममा पनि यातायातका साधनको बढ्दो प्रयोग हुन थालेपछि आफ्नो रोजगार नै गुमेको उनले बताए ।
उनले विभिन्न संघसंस्थामा मोबिलिटीसम्बन्धी तालिम लिएपछि आफ्नो आत्मबल बढेको र अण्डा बेच्नेजस्तो जोखिमपूर्ण काम गर्न पनि सक्छु भन्ने लागेको बताए ।
अण्डको भारी बोकी हिँड्दा १० वर्षको बीचमा जम्मा दुई, तीन पटक मात्र लडेका उनी केही दिनको कमाइ गएको भन्दै आफ्नो काम छोड्न नसकेको सुनाउँछन् ।
अल्पदृष्टि भएरै जन्मेका उनले सात कक्षासम्म पढेका छन् । पढ्दा अक्षर मसिना भएका कारण पढ्ने इच्छा हुँदा हुँदै पनि बाध्यवश पढ्न नसकेको दुखेसो छ ।
‘दृष्टिविहीनले दुखले काम गरेर खाएको छ, मान्छे पनि इमानदार नै छ’, उनले समाजबाट पनि आफूलाई यसरी नै हिम्मत बढाइदिने गरेको बताए ।
उनको परिवारमा ३ जना सुन्न र बोल्न नसक्ने दिदीबहिनी छन् । र श्रीमति । छिमेकीले भने उनको संघर्सशील शैलीको प्रशंसा गर्छन् रे । उनको काम गर्ने शैली र साहश देख्दा दृष्टिविहीन जत्तिकै भए पनि समाजका अन्य सवल मानिससरह छन् ।
यद्यपि उनले जीवनमा धेरै काम गर्न सकिने र गर्नुपर्ने भन्दै आशावादी कुरा गर्छन् । उनी अघि भन्छन्, ‘जीवन महत्वपूर्ण र संघर्षपूर्ण छ । सबैले परिश्रम गर्नुपर्छ ।’
-बिबिसी नेपाली सेवाबाट