सुरू हुँदै तिलोत्तमा गोल्डकप
बुटवल । प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २० औँ संस्करण फागुन २४ देखि चैत ३ गतेसम्म बुटवल ११ देवीनगरमा हुने भएको छ ।
जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि सो गोल्डकप सञ्चालन हुन लागेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
प्रतियोगिताको विजेता क्लबले सात लाख ७७ हजार ७ सय ७७ शहीद गोल्ड मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु चार लाख ४४ हजार ४ सय ४४ राशि रहेको पुरस्कार पाउने अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।
एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा भारतका दुई, भुटानको एकसहित नेपालका १३ ए डिभिजनका क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट विधागततर्फ (डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड, कोच) लाई जनही रु २१ हजार १ सय ११ रूपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
संघले अघिल्लो संस्करणको पुरस्कार राशि रु पाँच लाख ५५ हजार ५ सय ५५ बाट बढाएर रु सात लाख पुर्याएकाे जिल्ला फुटबल संघका उपाध्यक्ष भूपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । रासस