राप्रपामा असुरक्षित रेखा थापा !, एमाले प्रवेशको तयारीमा अब
काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्मी करिअर त खस्कँदो छ नै, राजनीतिक करिअर पनि उँभो लाग्ने छाँटकाँट देखिएको छैन ।
राप्रपा, माओवादी हुँदै राप्रपा नेपालमा प्रवेश गरेर राजनीतिमा स्थापित हुने उनको योजना थियो । तर पछिल्लो चुनावको परिणाम गतिलो नआएपछि राजनीतिक करिअर नै दाउमा परेको छ ।
यसैले पनि रेखा अब राजनीतिबाट पछि हट्ने वा अर्को पार्टीमा प्रवेश गर्ने भन्ने दोधारमा छन् । उनी रहेको पार्टी राप्रपालाई चुनावमा जनताले नपत्याएपछि रेखा पार्टीमा बस्ने वा छोड्ने अन्योलमा रहेको बुझिएको छ ।
आफ्ना निकटस्थहरुसँग अनौपचारिक गफमा पनि उनले यस्तै चिन्ता व्यक्त गर्न थालेको बुझिन्छ । यतिसम्म की, शक्तिशाली सत्ताशिन पार्टी नेकपा एमालेमा प्रवेश गर्ने सुझाव समेत उनलाई आउन थालेको छ ।
गायिका कोमल वलीसँग सम्बन्ध
गायिका कोमल वली र रेखा थापा कुनै बेला एउटै पार्टीमा थिए । वलीले हठात निर्णय गरी एमालेमा फड्को मारिन् । त्यसबेला रेखा भने राप्रपामै रहिन् ।
रेखाले खुसी हुँदै वलीलाई शुभकामना भने दिएकी थिइन् । यसले पनि के पुष्टि गर्छ भने वलीको भलो चिताउँछिन् रेखा ।
पछिल्लो समय भने रेखा राप्रपामा असुरक्षित रहेको महसुश गर्न थालेकी छन् । रेखाले आफ्ना मित्रहरुसँग ‘कमजोर पार्टीको कमजोर कार्यकर्ता रहेको महसुश गर्न थालेको’ भन्दै गुनासो पोख्दैआएकी छन् ।
वलीसँग पनि उनले धेरै समय राप्रपामा बसेर फाइदा नरहेको भन्दैआएकी छन् । वलीले भने उनलाई केही समयपछि एमालेमै ‘स्पेश’ बनाउने आश्वासन दिएकी छन् ।
रेखाले पनि प्रतिपक्षी र कमजोर पार्टीमा रहेर राजनीतिक करिअर धरापमा परेको भनेपछि वलीले एमालेमा लैजाने आश्वासन दिएकी हुन् । त्यसो त ‘ढिलोचाँडो’ रेखा वलीसँगै पुगने योजना रहेको बुझिएको छ ।
रेखाकै निकटस्थका अनुसार अबको केही समयमै रेखा एमाले प्रवेश गर्ने तयारी गरिरहेकी छन् । यसका लागि अभ्यास भइरहेको छ ।
फिल्मको विकल्प राजनीति
फिल्ममा पनि रेखा अचेल प्रभावहिन बन्दैगएकी छन् । कुनै बेला चारैतिर रेखाको मात्रै नाम सुनिन्थ्यो भने अचेल वर्षमा एउटा फिल्म पनि पाइनन् ।
रेखालाई फिल्मको विकल्पको रुपमा राजनीतिमा सक्रिय हुने सल्लाह उनकै मित्रहरुले दिँदैआएका छन् । र रेखा स्वयं कोमल वलीकै तरिकाले राजनीतिमा सक्रिय बन्ने सोच बनाउन थालेकी हुन् ।
सामाजिक कार्य
राजनीतिक प्रभावको हिसाव गर्ने हो भने कोमल वलीको जत्तिको प्रभाव रेखाको छैन । वली राजनीतिमा प्रवेश गर्नुअघि नै एक संचारकर्मीको रुपमा देशभर प्रभाव जमाएकी थिइन् । यस्तै उनको गायनको आफ्नै प्रभुत्व थियो ।
रेखा अभिनय भन्दा अन्य कलामा कमजोर नै हुन् । राजनीतिमा उनी लागे पनि प्रभाव भने छैन । यसैले सामाजिक कार्यमार्फत राजनीतिमा होमिनु फलदायी रहेको सुझाव उनलाई मित्रहरुले दिन थालेका छन् ।
‘धुर्मुस–सुन्तली’, ‘महजोडी’ वा अन्य झैँ सामाजिक कार्यमा केही समय सक्रिय भएपछि राजनीतिमा प्रवेश गर्नु उचित हुने सल्लाह वमोजिम नै रेखा पछिल्लो समय बाल बिबाह विरद्ध अभियानमा सक्रिय छन् ।