पश्चिमका बाजे, जसले बुहारीलाई माटो खुवाए
नेपाली ग्रामिण महिलाको यस्तो दुर्दशा कहिलेसम्म ?
प्रताप ओली ।
दुःखी र गरिब भई जन्मनु कसैको दोष होईन । आमा भिरपाखामा जन्मनुभयो र भिरमै लडीबुडी गर्न थाल्नुभयो । माईतीले १४ वर्षमै बिहे गरिदिएका रहेछन् । सानैदेखि अर्काको घरखानु सबैलाई गाह्रो हुन्छ । त्यसमाथि रगत सोस्ने सासु ससुराको फेला पर्दा कस्तो हाल होला !
छोरीलाई पाखा र छोरालाई काखा गर्ने त्यो समय चेलिबेटीका लागि बडो मुस्किल थियो । मेरी आमा दुब्ली र गोरी हुनुहुन्छ । एकदिन घरको आगनमा बिहानी घामका रश्मीले हामीलाई छोप्दै थिए, म आमाको टाउको सुम्सुम्याउँदै कुरा सुन्दै थिएँ ।
मैले सोधेँ, ‘आमा तपाईँ किन यति कमजोर हुनुभएको ? पहिलादेखि नै यस्तै हो र ?’ आमाले यसरी जवाफ दिनुभयो, ‘के गर्नु बाबु राति सुत्न पाईन्न, दिउँसो बस्न पाईन्न । पहिला त ठीकै थिएँ नी । यो घरमा आएपछि मलाई कहिल्यै सन्चो भएन ।’
आमाको यस्तो कुरा सुन्दा मलाई बाजे र बज्यैसँग झनक्क रिस उठ्यो । त्यसो त मेरी आमा सुत्ने बेला रातको १२ बजिसकेको हुन्थ्यो । बिहान ३ बजेअघि नै उठ्नुहुन्थ्यो । गाह्रो–साह्रो, जाडो केही भन्न पाउनुभएन । बाजे र बज्यैको सधैँ डर भयो ।
स्वास्थ्यका दृष्टिले हरेक मानिस दिनमा ८ घण्टा अनिवार्य आराम गर्नैपर्ने हुन्छ । मेरी आमाको हकमा भने यस्तो कहिल्यै लागु भएन । राति १२ बजेसम्म खाना पकाउनुपर्ने, खुवाउनुपर्ने, सबैले खाएका जुठा थाल र पकाएका भाँडा माझ्नुपर्ने । गाईभैंसी दुहुनुपर्ने, गाईभैंसीलाई खुवाउने, (लेपो ) पकाउनुपर्ने सबै जिम्मा आमाकै थियो ।
बिहान ३ बजे उठ्दा आमाका आँखा राता हुन्थे । तर पनि डरले झर्को नमानी काम गर्नुपथ्र्यो । धाराबाट पानी ल्याउने, गोठमा गाईभैंसीलाई घाँस दिने, मही बनाउने, गाईभैंसी दुहुने र घरका सबैलाई नास्ता बनाउँदा बनाउँदै उज्यालो भइसक्थ्यो । घरको बिहानी काम सकाएर आमा नास्ता हातमा लिँदै बाटोमा खाने गरेर मेलापातमा घाँस काट्न हिँड्नुहुन्थ्यो । मेलापात गर्ने ठाउँ पुग्न ३ देखि ४ घण्टा हिँड्नुपथ्र्यो । त्यहाँ गएर सजिलै घाँसपात पाइँदैनथ्यो । भिरालो पाखो । खस्यो भने ५ किलोमिटर तल एउटा खोला थियो । मानीलिउँ त्यो खोलामा खस्यो भने हड्डीको टुक्रा समेत भेट्टाउन गाह्रो हुन्छ ।
यतिसम्म कि, म पेटमा भएको बेला पनि आमा घाँसदाउरा गर्दै हुनुहुन्थ्यो रे । आमाले भनेअनुसार म उहाँको पेटमै भएको बेला असाध्यै भोक लागेपछि खाने कुरा नहुँदा भीरको माटो खनेर खानुभएछ । त्यही साँझ घाँस काटेर ३ बजे घर फर्किनुभएछ । बाटोमा लडेर खुट्टा मर्कियो, काटेको घाँसको भारी पिठ्युँबाट लडेर छिल्लीबिल्ली भएछ । रुँदैरुँदै फेरि घाँस काट्न जानुभएछ ।
फेरि घर फर्कँदा रातको साँढे ११ बजिसकेछ । यता घरमा ढिलो भयो भनेरबाजे रिसले आगा थिए रे । आमाले यो घटना सुनाउँदा उहाँको आँखाभरी आँशु थियो ।
खान नपाएर माटो चपाउनुपर्ने, छोराछोरी नपाउनसम्म श्रीमानसँग बोल्नै नपाउने, बाहिर सर्दा ( छाउ हुँदा ) एक कोस पर भुईँमै सुत्नुपर्ने, खाना सबैले खाईसकेपछि अन्तमा बचेको जुठो खानुपर्ने, भोक निन्द्रा भन्न नपाईने, चाडपर्वमा जान नपाईने, मीठो–मसिनो खान नपाईने, अन्य पुरुषसँग बोल्नै नपाइने, छोरा नपाए सौता झेल्नुपर्ने । लेखपढ गर्ने कुरा त कल्पना भन्दा बाहिरको कुरा थियो ।
मेरी आमा झैँ पश्चिम नेपालका लाखौं आमाहरुले वर्षौँदेखि भोग्नुपरेको पीडा हो यो । मेरा बाजे जस्ता लाखौं बाजेहरु आफ्ना बुहारीलाई यस्तै पीडा र यातना दिए ।
अझै पश्चिमका बाजेहरु । खासगरी पुरुषहरु महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा ब्यवहार गर्छन् । कुनै एक ‘ससुरा’, ‘श्रीमान’ वा पुरुषको समस्या नभएर हाम्रो नेपाली समाज नै शिक्षा र चेतनाको हिसावमा पछौटे हो ।
जसले गर्दा पुरुषहरु बदलिन तयार भएनन्, महिलाले आफ्नो अधिकारको लागि सामुहिक आवाज उठाउन सकेनन् । अन्ततः राज्यको व्यवहारबाटै समाजको चिन्तन बनेको हुन्छ । हरेक राज्यको चरित्र नागरिकलाई शासन गर्ने मनशायबाटै निर्देशित हुन्छन् । मेरी आमाले पृुरानो पीडा सुनाए झैँ हाम्रा बहिनी र छोरीहरुले यस्तै कथा सुनाउनु नपरोस् ।