कसरी सुधार्ने नेपाली क्रिकेटको ब्याटिङ ?
अभिभावकविहीन नेपाली क्रिकेटको अबको बाटो
विश्व रिमाल ।
एक समय क्यान निलम्बनमा परेपछि धरापमा परेको नेपाली क्रिकेट अहिले बौरिएको छ । पछिल्लो प्रदर्शनबाटै विश्व क्रिकेटमा थोरै भए पनि आफूप्रति ध्यान खिच्न सफल भएको छ ।
यो वर्ष नेपाली क्रिकेटको लागि केही खास बन्यो । यू १९ नेपाली टोलीले भारतलाई पहिलो पटक पराजित गर्नु, सन्दीप लामिछाने पहिलो पटक आईपीएल खेल्ने नेपाली क्रिकेटर बन्नु र एकदिवसीयमा वल्र्डकप छनोटमा प्रवेश गर्नुजस्ता ऐतिहासिक सफलता नेपाली क्रिकेटले पायो ।
यी सफलतासँगै नेपालसामु चुनौती पनि त्यतिकै थपिएको छ । यही फागुन २० गतेदेखि नेपालले जिम्बावे, हङकङ, अफगानिस्तान, स्कटल्यान्डजस्ता राष्ट्रहरुसँग प्रतिस्पर्धा गरिरहेको छ ।
समूह बी मा परेको नेपालले चिरपरिचत प्रतिद्वन्द्वी तथा टेस्ट क्रिकेटको नवप्रवेशी अफगानिस्तान, अर्को टेस्ट राष्ट्र जिम्बावे, स्कटल्याण्ड र हंगकंगको सामना गर्नेछ । विश्वकप छनोटबाट पहिलो दुई स्थान हात पार्ने टोली सन् २०१९ मा इंगल्यान्डमा हुने विश्वकपका लागि छनोट हुनेछन् ।
अन्तर्राष्ट्रिय मैदानमा त्यति धेरै अनुभव बटुल्न नपाएको नेपालको लागि यो एउटा चुनौतीका सार्थ महत्वपूर्ण अवसर पनि हो ।
विश्वकपमा स्थान बनाएसँगै प्राप्त हुने अन्य उपलब्धिका लागि भने नेपालले विश्वकपमै स्थान बनाउनुपर्छ भन्ने छैन । छनोटमा एसोसिएट राष्ट्रमध्ये पहिलो तीन स्थान ओगट्ने टोलीले सन् २०२२ सम्मका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन् ।
अन्तिम दुई स्थान (९ औं र १० औं) प्राप्त गर्ने टोली डिभिजन दुईमा झर्ने र पुनः डिभिजन दुईको अर्को प्रतियोगितामा खेल्नेछन् । त्यसैले नेपाललाई सामान्यतः सुपर सिक्समा प्रवेश गर्दा सबैभन्दा ठूलो फाइदा पुग्नसक्छ ।
सुपर सिक्समा प्रवेश पाउने सबै एसोसिएट राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासँगै चारदिवसीय आईसीसी ईन्टरकन्टिनेन्टल कप र आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशीप खेल्ने मौका पाउनेछन् । सुपर सिक्समा पुग्ने टोलीका लागि अर्को तीन वर्ष क्रिकेटमय बन्नेछ ।
नेपालको विश्वकप छनोटमा यो दोस्रो यात्रा हुनेछ । यसअघि नेपालले सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा सहभागिता जनाएको थियो, जहाँ टोली नवौं स्थानमा समेटिएको थियो ।
कमजोर ब्याटिङ
क्रिकेटका उत्कृष्ट टोलीलाई पनि आफ्नो बलिङबाट प्रभाव देखाउन सफल भएको नेपाली टोलीको ब्याटिङ भने निकै कमजोर छ । आवश्यक भौतिक पूर्वाधार, सरकारको उदासीनता र पर्याप्त घरेलु प्रतियोगिता अभावका कारण पनि नेपालले ब्याटिङमा खासै प्रगति गर्न नसकेको खेलाडीहरु नै बताउँछन् ।
बलिङमा उत्कृष्ट प्रदशन गर्दैआएको नेपालले विपक्षीलाई धेरै रन बनाउन नदिए पनि कमजोर ब्याटिङका कारण खेलमा चामत्कारिकता देखिन सकेको छैन । यद्यपि, नेपाली समर्थकहरु भने बलिङलाई नै जीतको महत्वपूर्ण कडी मान्दैआएका छन् । नेपालले क्यानडाविरुद्धको खेलमा सनसनीपूर्ण जीत हासिल गर्ला र ट्वान्टी–ट्वान्टी विश्वकप खेल्ला भनेर सायदै सोचेका थिए ।
तर नेपालको पछिल्लो खेल हेर्ने हो भने ब्याटिङमा थोरै भए पनि पहिलेभन्दा सुधार देखियो । यसपटक नेपालले यूएई, नामिबिया, केन्या र क्यानडाजस्ता टोलीलाई पराजित गर्दा त्यसको श्रेय ब्याटिङलाई पनि गएको छ ।
कुनै समय मलेसिया, सिंगापुर, जर्सी, इटाली, अमेरिकाजस्ता राष्ट्रहरुको स्तरमा रहेको नेपालले पछिल्ला दुई वर्ष एसोसिएट क्रिकेटका माथिल्लास्तरका टिमविरुद्ध खेलेको छ र उनीहरुलाई हराएको पनि छ ।
नेपालले पछिल्लोपटक क्यानडासँग चमत्कारिक जीत त पायो । अर्थात्, उक्त जीत भरपर्दो भने थिएन । नेपाली क्रिकेट टोलीले भरपर्दो ब्याटिङ गर्दैन नै । यही शैलीको ब्याटिङले त जुनसुकै बेला नेपाललाई पराजित गराउनसक्छ । जसले गर्दा पनि नेपाली टोलीले ब्याटिङका लागि अझै पहल बढाउनुपर्ने छ । सरकारको तहबाटै त्यसतर्फ ध्यान दिनु जरुरी छ ।
यति हुँदाहुँदै अभिभावकबिना ट्वान्टी–ट्वान्टी वल्र्डकप र एकदिवसीय वल्र्डकप छनोटसम्म आइपुगेको नेपाली क्रिकेटको श्रेय पूर्णरूपमा भने नेपाली खेलाडीहरुलाई नै जान्छ । न कि क्रिकेट काउन्सिल त्यसका बोर्ड, अन्तर्राष्ट्रिय प्रशिक्षक तथा पर्याप्त भौतिक पूर्वाधार । र, आगामी दिनमा हुने उपलब्धि पनि उनीहरुकै नाममा रहनेछ । जसको प्रमाणसहित उदाहरण अहिले देखिइसकेको छ ।