डीपीएल(धनगढी प्रिमियर लिग) मा कुन खेलाडी कतिमा बिके
काठमाडाैं । घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को अक्सन अहिले जारी छ ।
‘ए’ वर्गका खेलाडिहरुमा वसन्त रेग्मीलाई विराटनगर किङ्सले १ लाख ५० हजारमा खरिद गरेको छ । उनलाई सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्सले पनि बोली लगाएका थिए । त्यस्तै विराटनगरले पृथु बास्कोटालाई १ लाख २० हजारमा खरिद गर्न सफल रह्यो ।
महेन्द्रनगर युनाइटेडले ‘ए’ वर्गका तीन खेलाडिलाई टोलीमा भित्राउन सफल भयो । महेन्द्रनगरले करन केसीलाई १ लाख ५० हजारमा, अभिनाश कर्णलाई ८० हजारमा र आरिफ शेखलाई १ लाख ५० हजारमा खरिद गर्यो । आरिफ शेखलाई रुपन्देही च्यालेन्जर्सबाहेक सबैले तथा करनलाई सबै टोलीले बोली लगाएका थिए ।
रुपन्देही च्यालेन्जर्सले जितेन्द्र मुखियालाई ९० हजार, प्रदिप ऐरीलाई ८० हजार र सागर पुनलाई १ लाख ५० हजारमा खरिद गर्न सफल भयो । काठमाडौं गोल्डेन्सले नरेश बुढाएरलाई १ लाख २० हजारमा खरिद गरे । त्यस्तै टिम चौराहा धनगढीले राजेश पुलामी मगरलाई ८० हजारमा खरिद गर्यो भने सुबास खकुरेल सीवाइसी अत्तरियामा ८० हजारमा बिके ।
‘ए’ वर्गमा रहेका चन्द्र साउद, राहुल विश्वकर्मा, मन्जित श्रेष्ठ, मेहबुब आलम र सन्जम रेग्मीलाई कुनै टोलीले खरिद गरेन । ‘बी’ र ‘सी’ वर्ग खेलाडीको अक्सन अहिले चलिरहेको छ ।
महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी, डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी, सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्का रहेका छन् ।