मनोज पुनपछि प्रहरीको अबको इन्काउन्टर टार्गेट ‘टीके डन’
काठमाडौं । प्रहरीले फरार अभियुक्त मनोज पुनको प्रहरी ‘इन्काउन्टर’मा हत्या भएको घटनाले यतिबेला महत्व पाएको छ । व्यवसायी शरद गौचन हत्याका नाइके भन्दै प्रहरीले पुनलाई पछ्याउँदैआएको थियो ।
यसअघिका अन्य केही हत्याको नाइके उनै पुनलाई प्रहरीले ठान्दैआएको थियो । अन्ततः पुन प्रहरीको ‘इन्काउन्टर’मा परे ।
शान्तिसुरक्षाकै लागि चुनौती बनेका गुण्डा नाइके तथा फरार सूचीमा रहेका गुण्डा नाइकेहरुलाई ‘इन्काउन्टर’मा पार्ने प्रहरीको गोप्य योजना झन तिब्र बनेको पुन घटनाले पनि देखायो ।
पुन र अर्का गुण्डा नाइके सोम आलेमाथि २२ राउण्ड गोली प्रहरीले बर्साएको स्थानीयको भनाइ छ । यस्तो प्रकृतिको घटनाबाट ‘एकपछि अर्को गुण्डा नाइकेलाई इन्काउन्टरमा पार्ने योजनामा प्रहरी लागिपरेको’ भन्न सकिन्छ ।
त्यसो त, दिनेश अधिकारी ‘चरीदेखि सुरु भएको प्रहरीको ‘इन्काउन्टर’योजनाको शिकार कुमार श्रेष्ठ ‘घेँटे’, प्रवीण खत्री हुँदै मनोज पुन र सोम आले पनि बने । यस क्रममा जशवन्त राईलाई भने प्रहरीले गोली फायर गर्दै शकुशल पक्राउ गरेको थियो ।
अबको टार्गेट ‘टीके’
प्रहरीले आफैँमाथि खतरा देखिएपछि गुण्डा नाइकेमाथि कडाइ गर्दैआएको यसअघिका घटनाले पनि देखाउँछन् । कुनै बेला एमालेका सभा सम्मेलनमा खुलेआम उपस्थित हुने कुमार अन्ततः प्रहरीको निशानामा परे ।
कुमार श्रेष्ठ ‘घैँटे’ पनि केहीअघिसम्म सार्वजनिक रुपमा नेपाली कांग्रेसका कार्यक्रममा उपस्थित हुन्थे । अचानक उनीहरु ‘इन्काउन्टर’मा पर्नु संयोग नभएर योजना नै भएको प्रहरी उच्च स्रोतकै स्विकृति छ ।
पछिल्लो समय प्रहरीको गोलीबाट घाइते भएका गुण्डा नाइके टीका बहादुर थापामगर अर्थात् ‘टीके डन’ लाई प्रहरीले आफ्नो ‘टार्गेट’ मा पार्दैआएको बुझिएको छ । उनलाई नै कुनै बेला प्रहरीले अप्ठ्यारोमा पार्नसक्ने योजना प्रहरीभित्रै बनिरहेको उच्च स्रोतबाट बुझिएको छ ।