सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने
भक्तपुर: अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ ।
सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले यसको विस्तार तीव्र गतिमा गर्नुपर्नेमा जोड दिए । उनले भने, 'अहिले सूर्यविनायक जगाती सडकखण्डमा बढ्दोे सवारी चापलाई कम गरी सहजरूपले सवारीसाधन सञ्चालनका लागि सडक विस्तारले निकास दिनेछ, यो नाकामा सडक साँघुरो भएकाले पलाँसे–साँगा भञ्ज्याङ खण्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजनासमेत अगाडि बढेको छ ।'
हाल सञ्चालनमा रहेको कोटेश्वर–सूर्यविनायक छ लेन सडकमा दुर्घटना बढेको प्रति सचेत हुँदै सडक विस्तार गर्दा ट्राफिक लाइट, सिसिटिभी, सडक बत्ती, आकाशे पुल र फुटपाथको यथोचित व्यवस्था गरी दुर्घटना न्यूनीकरणमा सचेतता अपनाएर सडक विस्तार गर्नुपर्ने उनले भने ।
सडकको चोकचोकमा ट्याक्सी पार्किङ, मनोहरामा व्यवस्थित बसपार्क र साँगामा उपत्यका भित्रिने गाडी धुने व्यवस्था गरिने जानकारी दिंदै सांसद बस्नेतले भने, 'सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा हाललाई ७५ फिटमात्रै बनाउनुपर्छ, सडक विस्तार गर्दा पहिलो पटकलाई सडकमा पर्ने सबै घरजग्गाको मुआब्जा दिने व्यवस्था गरिनुपर्छ ।'
सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सूर्यविनायक–धुलिखेल आठ लेन सडक विस्तारमा जापान सरकारले सहयोग गर्ने बताए । उनका अनुसार यो सडकखण्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ, सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको छ ।
जापान सरकारको अनुदान र सडक विस्तारका लागि जापानले ०.२ प्रतिशत ब्याजमा ऋण सहयोग दिने प्रतिबद्धता जनाएकाले यो सडकखण्ड छिट्टै विस्तार गर्ने तयारी भएको उनको भनाइ थियो ।
प्रमुख श्रेष्ठले भने, 'सडक विस्तारका क्रममा पलाँसेमा सुरुङ निर्माण गरिने योजना छ, पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तीहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या देखिँदा सुरुङमार्गको योजना बनाइएको हो । सडक आठ लेनको भए पनि सुरुङमार्ग भने चार लेनको हुनेछ ।'
पेट्रोलियम पदार्थ बोकेका गाडीलाई सुरुङ मार्गमा प्रवेश नदिई सडकबाटै पठाइने बताउँदै उनले सूर्यविनायक–कोटेश्वरखण्डमा पनि जाम हटाउन सुरुङ मार्ग बनाउन अध्ययन भइरहेको बताए । यो सडकबाट चीनसँगको तातोपानी नाका जाने साथै अरनिको र बिपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुली, बर्दिबासलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले शीघ्र सडक विस्तारमा जोड दिँदै सबै ठाउँमा बाटोको मापदण्ड एउटै हुनुपर्ने र सडक विभागले कानून बाहिर नगई नियमअनुसार स्थानीयवासीको माग बमोजिम मुआब्जा दिनु पर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाका स्थानीय जनप्रतिनिधि उकेश कवाँले सडक विस्तार गर्दा जनताका माग तथा समस्यालाई ध्यान दिँदै दुर्घटना कम गर्न, धुलो नियन्त्रण गर्न र साइकल लेनसमेत बनाएर सडक विस्तार गरिनुपर्ने उल्लेख गरे।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकीले हाल सञ्चालनमा रहेको छ लेन सडकबाट पाठ सिकेर अब विस्तार हुने सडकलाई दुर्घटना भइरहने मृत्युमार्ग हुनबाट जोगाउनुपर्ने तथा चोकचोकमा सडक बत्ती एवं आकाशे पुलको यथेष्ट व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा स्थानीय पशुपति खत्री, अच्युत खत्री, सञ्जीव खत्री, महेन्द्र गिरी, शिवलाल बालालगायतले सडक विस्तारले आफूहरुको उठीबास लाग्ने हुँदा उचित क्षतिपूर्ति दिन माग गरे ।