खेल मुख्य समाचार

युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ग्लोबल आईएमईकाे एक वर्ष साथ

युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ग्लोबल आईएमईकाे एक वर्ष साथ

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ग्लोबल आईएमई बैंकले प्रायोजन गरेर साथ दिने भएकाे छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकले ऐरीसँग वार्षिक ४ लाख बराबरको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।

 

ऐरीले ग्लोबल आई एम ईसँगकाे सम्झौताअनुसार मासिक २० हजार रुपैयाँ १ वर्षसम्म पाउने भएका छन् । बाँकी रकम बराबरको भने किट उपलब्ध गराउने कार्यक्रममा जानकारी दिइयो ।

 

सम्झौतापछि ग्लोबल आई एम ईका सीईओ जनक शर्मा पौडेलले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका क्रिकेटका खेलाडीलाई ब्राण्ड एम्बेसडर बनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘क्रिकेटरहरुले आफ्नै बलबुताले यती राम्रो प्रदर्शन गरिरहेका छन्, सरकारी र निजी क्षेत्र मिलेर उनीहरुको स्तर वृद्धिमा लाग्नुपर्छ ।’



सीईओ पौडेलले दुई खेलाडीलाई सहयोग गर्ने नीति रहेको र छिट्टै अर्का खेलाडीलाई पनि छनोट गरी प्रायोजन गरिने बताए । उनले आशन्न विश्वकप छनोटमा सहभागी हुन जाने नेपाली टोलीलाई जितको शुभकामना पनि दिए ।



कार्यक्रममा क्रिकेट टोलीका कप्तान पारस खड्काले व्यवसायिक क्षेत्रबाट भएका यस्ता कार्यक्रमले खेलाडीलाई प्रेरणा मिल्ने भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । पूर्व राष्ट्रिय क्रिकेटर तथा क्रिकेट खेलाडी संघका अध्यक्ष पवन अग्रवालले खेलाडीलाई यसरी गरिने आर्थिक सहयोगले करिअरको उच्च लयमै रहेको अवस्थामा खेल्न छाड्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने धारणा राखे ।

विशेष