मुख्य समाचार

सरकारी रकम नतिर्नेमा पूर्वप्रधानमन्त्रीदेखि सांसद्सम्म

३५ दिनभित्र नबुझाए सम्पत्ति जफत

सरकारी रकम नतिर्नेमा पूर्वप्रधानमन्त्रीदेखि सांसद्सम्म

काठमाडाैँ । सरकारी बक्यौता नबुझाउने ११९ जनाको तीनपुस्ते विवरण सार्वजनिक भएको छ । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौं रुपैयाँ वक्यौता नबुझाउने ११९ जना व्यक्तिको तीनपुस्ते सार्वजनिक गर्दै ३५ दिनभित्र बाँकी रकम नतिरे कारबाही गर्ने भएको हो ।

 

महालेखाका अनुसार बक्यौता नबुझाउनेमा पूर्वप्रधानमन्त्रीदेखि सांसद र व्यापारीका सन्तान, उद्योगी, व्यवसायी र कर्मचारी छन् । उनीहरूलाई चिठी लेखेर घरमै पठाउँदा पनि प्रतिक्रिया नआएपछि महालेखाले बुधबार बक्यौता नतिर्नेको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । उनीहरूलाई ३५ दिनभित्र बाँकी रकम तिर्न अल्टिमेटम दिइएको छ ।

 

महालेखा नियन्त्रक रामकुमार आचार्यका अनुसार महालेखाले सार्वजनिक गरेको ११९ जनाको विवरणमा राणा प्रधानमन्त्री भीमशमशेर र पद्मशमशेरका परिवारसमेत छन् । यसैगरी होटल मल्लका तत्कालीन प्रबन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

 

महालेखाको कार्यालयले वर्षको एकपटक यस्तो सूचना सार्वजनिक गर्ने गरेको छ । यसबाट वार्षिक ९० लाख रुपैयाँसम्म बक्यौता रकम उठ्दै आएको महालेखाका सहायक सूचना अधिकृत सूर्यमणि गौतमले बताए । महाशाखाले व्यक्तिले बुझाउनुपर्ने सरकारी बाँकी, कम साँवा र सोमा लाग्ने वार्षिक १० प्रतिशतका दरले ब्याज समावेश गरी बुझाउन अनुरोध गरेको छ ।

महालेखाको अनुसार ऋण नर्तिनेमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो छन् । यिनीहरूबाट सरकारले अर्बौं रकम उठाउन बाँकी छ । १सय १९ जनाबाट १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी असुल गर्नुपर्ने देखिएको महालेखाले जनाएको छ । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।

विशेष