प्रवास

मलेसियामा किन जेल पर्छन् नेपाली ?

मलेसियामा किन जेल पर्छन् नेपाली ?

मलेसिया । सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सद्दे फर्कीएका छन् भने कतिपय अपाङ्ग भएर फर्किएका छन् । त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन् । त्यसबाहेक मलेसियाको मजदुरी कथाव्यथाभित्र अर्को पाटो पनि छ, जेलजीवन ।

 

मुआरको एक फर्निचर कम्पनीमा कार्यरत सुजन श्रेष्ठ र होमबहादुर मगरबीच आफूहरु बस्दै आएको होस्टलमै सामान्य भनाबैरी भयो। झगडाले उग्र रुप लियो, अस्पतालमा उपचार गराउँदै गर्दा होमबहादुरको मृत्यु भयो। घटनालगत्तै १९ वर्षीय सुजन पक्राउ परे। २ वर्षअघि भएको उक्त घटनाबारे हालै अदालतले उनलाई २२ वर्षको जेल सजाय सुनाएको छ। उनी जेलको चिसोमा दिन कटाइरहेका छन्।

 

सन् २००१ मा रोजगारीका लागि मलेसिया आएका तत्कालीन बर्सुचेत गाविस–१, नुवाकोटका हरिबहादुर घलेको ३ वर्षे करार सकेर घर फर्कनु केही दिनअघि चिनेजानेका नेपाली साथी गणेश तामाङसित भेट भयो।

 

गणेशले आफू केहीबेरमा आउने बताउँदै एउटा झोला घलेको हातमा थमाए। झोला लिएर गणेशले भने अनुसारै उनी क्वालालम्पुरको एक होटलको कोठामा पुगे। नेपाली दूतावासका अनुसार कोठामा बस्दै गर्दा हरिबहादुर ८ सय ७५ ग्राम लागुपदार्थ (हिरोइन) सहित गत सन् २००३ मे ३० मा पक्राउ परे। गत २००९ नोभेम्बर २६ मा मलेसियाको उच्च अदालतले (हाइकोर्ट) ले उनीमाथि मृत्युदण्ड सजाय दिने फैसला सुनायो। हाल उनी मृत्यु कुर्दै जेलमै दिन बिताइरहेका छन्।

 

रोजगारीका लागि मलेसिया आएकाको आ-आफ्नै कथाव्यथा छ, वर्णन गरिसाध्यै छैन। वैदेशिक रोजगारीभित्र जेलिएका त्यस्ता अनेक कथाव्यथा मध्ये सुजन र हरि दुई भिन्न प्रतिनिधिपात्र हुन्।

 

सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सग्लै फर्किएका छन भने कतिपय अपाङ्ग भएर। त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन्। त्यसबाहेक मलेसियाको मजदुरीका क्रममा कतिपयले भोग्ने गरेको बेग्लै व्यथा हो, जेल सजाय।

 

मलेसियामा महिनैपिच्छे कुनै न कुनै अभियोगमा नेपालीहरु जेल परेका खबर आउने गरेको विषय नौलो रहेन। क्वालालम्पुरस्थित नेपाली दूतावासको पछिल्लो तथ्यांक हेर्ने हो भने हाल १९६ जना नेपाली विभिन्न अभियोगमा मलेसियाका विभिन्न जेलमा सजाय भोगिरहेका छन्। ती बाहेक गतवर्ष मात्र एकहजार ४० जना नेपालीहरु जेल सजाय भुक्तान गरेर स्वदेश फर्कीएका छन्।

 

के कारणले जेल पर्छन्?
जेल पर्नुका अनेकन कारण छन्। जेल पर्नेहरुमाथि बिना भिसै काम गरेको, ओभरस्टे बसेको, चोरी डकैती, अपहरणमा संलग्न रहेको, गालीगलौज तथा अभद्र व्यवहार गरेको, लागूऔषध प्रयोग/सेवन, लागूऔषध कारोबार र हत्यासम्म लगायतका गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको छ।

 

त्यसरी जेल पर्नेमा साथीभाईको लहैलहैमा लागेर अनैतिक/गैरकानुनी गतिविधिमा लाग्नेदेखि रोजगारदाता कम्पनीसँगको सम्झौताअनुसारको तलबसुविधा नपाएपछि कम्पनी छाडी भागेर गैरकानुनी अवस्थामा काम गर्नेसम्मका छन्। त्यतिमात्र कहाँ हो र, कतिपय सामान्य जानकारीको अभावमा समेत भूलवश: जेल पर्ने गरेका उदाहरणहरु पनि नभएका होइनन्।

 

कतिपय गम्भीर अभियोगमा कतिपय वर्षौंदेखि जेल जीवन बिताइरहेका छन्। अधिकांश गैरकानुनी अवस्थामा काम गर्दा पक्राउ परेकाहरु पाइएको छ।

 

न्युनीकरणको प्रयास
पछिल्लो समय दूतावासले यस्ता समस्यामा न्युनीकरण गर्न नेपाली कामदारको जनचेतना बढाउन प्रभावकारी सामाजिक सञ्जाल फेसबुकमा आफ्नै पेजमार्फत विभिन्न जानकारीहरु प्रवाह गर्दै आएको छ। साथै आफ्ना सेवा र कामदारको समस्या, जेल एवं कानुनी परामर्श सेवा र अलपत्र परेकाहरुको उद्दार प्रक्रियाबारे जानकारीमूलक सचेतना कार्यक्रम समेत गर्न थालेको छ।

जेल र फिर्ती केन्द्रमा रहेका नेपालीहरुको अवस्थाबारे अवलोकन गर्ने र जानकारी संकलन गर्दै आवश्यक सहयोग र समन्वय गर्दै आएको नेपाली दूतावासले जनाएको छ।

विशेष