हात्तीपाइले राेगविरुद्ध २४ जिल्लामा अाज औषधि खुवाइँदै
काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान आजबाट सुरु भएको छ । देशका २४ जिल्लामा याे अभियान सुरिएकाे हाे । अभियान फागुन १४ मा सकिने छ ।
पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका ९१ लाख ५४ हजार जनालाई औषधि खुवाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवनबाट कुनै समस्या नपर्ने इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । निर्देशक आचार्यका अनुसार यसपटक २४ जिल्लाका ९१ लाख ५४ हजार जनतालाई लक्षित गरी हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ।
हात्तीपाइलेका कति बिरामी छन् भन्ने एकिन तथ्यांक छैन् । सरकारले सम्भावित जिल्ला तय गरेर हरेक वर्ष औषधि सेवन गराउँदै आएको छ। अभियान सफल बनाउन सरकारले ८ हजार ५ सय ५७ जना स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ जना स्वयंसेवक परिचालन गरेको छ।
नेपालमा सन् २००३ देखि आम औषधि सेवन अभियान हुँदै आएको हो । सन् २००३ देखि नेपालमा सुरु भएको हात्ती पाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०१७ सम्म आइपुग्दा १० करोड मात्रा औषधि प्रयोग भइसकेको छ । २४ जिल्लाका लागि ३८ करोड ३५ लाख २१ हजार बजेट विनियोजन भएको छ।