नेपाली क्रिकेट टोलीको विश्वकपयात्रा कति सजिलो–कति अप्ठ्यारो ? (भिडियो)
जगत टमटा भन्छन्ः ब्याटिङ सुध्रिएको छ
विश्व रिमाल/चन्द्र राई ।
डिभिजन २ को खेलमा नेपाली टीमले क्यानडाविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हाँसिल गर्यो । जितसँगै नेपाल विश्वकप क्वालिफायरमा उत्कृष्ट टोलीहरुबीच प्रतिस्पर्धा गर्दैछ ।
नेपाल डिभिजन टूको उप–विजेता बनेर समूह ‘बी’ मा परेको हो । फागुन २० गतेदेखि चिरपरिचत प्रतिद्वन्द्वी तथा टेस्ट क्रिकेटको नवप्रवेशी अफगानिस्तान, अर्को टेस्ट राष्ट्र जिम्बावे, स्कटल्याण्ड र हङकङको सामना गर्नेछ । विश्वकप छनोटबाट पहिलो दुई स्थान हात पार्ने टोली सन् २०१९ मा इंगल्यान्डमा हुने विश्वकपका लागि छनोट हुनेछन् ।
अन्तर्राष्ट्रिय मैदानमा त्यति धेरै अनुभव बटुल्न नपाएको नेपालको लागि यो एउटा चुनौतीका साथै महत्वपूर्ण अवसर पनि हो ।
डिभिजन १ को प्रतियोगितामा ४ राष्ट्र टोली छन् जसमध्ये नेपालले आफ्नो पहिलो खेलमै जिम्बावेसँग खेल्दैछ । यो प्रतियोगिता नेपालको लागि एउटा अवसर भएको नेपाली क्रिकेट टिमका कप्तान पारस बताउँछन् ।
उनी भन्छन्, ’अहिलेको मोमेन्टमलाई बचाउन सक्ने हो भने नेपाली टिमलाई अगाडि लान सकिन्छ । भौतिक पूर्वाधारको कमी भएता पनि हामी यहाँसम्म आउनु भनेको हाम्रो खेलाडीको लगनशीलता र मिहेनतको फल हो ।’
पछिल्लो समय नेपाल सरकार र क्रिकेट सम्बद्ध संघ संस्थाहरुले पनि क्रिकेट क्षेत्रको पूर्वाधार विकासका लागि चासो दिएको र आउँदा दिनमा नेपाली क्रिकेटको भविष्य उज्जवल हुने कप्तान खड्का बताउँछन् ।
उनी भन्छन्, ’नेपाली क्रिकेट फ्यान वा खेलाडी सबैमा धैर्यता छ र खेलाडीहरुमा क्षमता पनि त्यतिकै देख्न सक्छौँ । उदाहरणको लागि आइपिएलमा चुनिएका सन्दीप लामिछाने र क्यानडाविरुद्धको खेल जिताएका करण केसीलाई नै हेरौँ ।’
विश्वकप क्वालिफायरको छनोट खेलका लागि सबै खेलाडी शारीरिक र बौद्धिक रुपले तयार रहेको मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् । नेपाली खेलाडीको हौसला र विश्वासको सराहाना गर्दै आफू खेलाडिप्रति पूर्ण आशावादी रहेको उनले बताए ।
उनी भन्छन्, ’हामीसँग जति पूर्वाधार छ त्यसको पूर्ण रुपमा उपयोग गरिरहेका छौँ । आइसिसीको फन्डबाट पनि सहयोग भइरहेको छ । हाम्रो विरुद्ध टेस्ट मान्यता टोली छन् तर अहिलेको हाम्रो खेललाई हेर्ने हो भने उनीहरुलाई पनि चुनौति हामीले दिनेछौँ ।’
नेपालको १५ टोलीमा अटाउन सफल भएका ललित राजवंशी आफूलाई टोलीले गरेको विश्वास अनुसार तयारी गरिरहेको र टोलीलाई निराश नबनाउने बताउँछन् । अहिलेको अवस्थामा नेपाललाई जित हासिल गर्न सम्भावना रहेको र राष्ट्रको लागि टोलीले शत प्रतिशत कोसिस गर्ने उनी बताउँछन् ।
विश्वकपमा स्थान बनाएसँगै प्राप्त हुने अन्य उपलब्धिका लागि भने नेपालले विश्वकपमै स्थान बनाउनुपर्छ भन्ने छैन । छनोटमा एसोसिएट राष्ट्रमध्ये पहिलो तीन स्थान ओगट्ने टोलीले सन् २०२२ सम्मका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन् ।
अन्तिम दुई स्थान (९औं र १० औं) प्राप्त गर्ने टोली डिभिजन दुईमा झर्ने र पुनः डिभिजन दुईको अर्को प्रतियोगितामा खेल्नेछन् । त्यसैले नेपाललाई सामान्यतः सुपर सिक्समा प्रवेश गर्दा सबैभन्दा ठूलो फाइदा पुग्नसक्छ ।
सुपर सिक्समा प्रवेश पाउने सबै एसोसिएट राष्ट्रले एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यतासँगै चारदिवसीय आईसीसी ईन्टरकन्टिनेन्टल कप र आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशीप खेल्ने मौका पाउनेछन् । सुपर सिक्समा पुग्ने टोलीका लागि अर्को तीन वर्ष क्रिकेटमय बन्नेछ ।
नेपालको विश्वकप छनोटमा यो दोस्रो यात्रा हुनेछ । यसअघि नेपालले सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा सहभागिता जनाएको थियो, जहाँ टोली नवौं स्थानमा समेटिएको थियो ।
नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न शनिबार राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुबई हुँदै जिम्बाबेका लागि प्रस्थान गदैछ ।
टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् ।
वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् ।