राती प्रेमीसँगै सुन्धारा पुगेकी युवती बिहान मृत भेटिइन्
काठमाडौं । सुन्धारास्थित होटलमा शनिबार बिहान एक युवती मृत भेटिएकी छन् । उदयपुरको कटारी–९ घर भइ हाल हात्तिवन बस्दै आएकी २४ वर्षीय सर्मिला राउत सुन्धारास्थित निकुद गेष्ट हाउसको १०४ नम्बर कोठामा मृत भेटिएकी हुन् ।
उनी सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय विशाल खड्कासँगै होटलमा पुगेकी थिइन् । खड्का र राउत करिब डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।
होटल सञ्चालक सुन्दर श्रेष्ठले खबर गरेपछि महानगरीय प्रहरी वृत, जनसेवा र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।
प्रहरीका अनुसार राति उनीहरुसँगै थप दुई युवक होटलमा पुगेका थिए, जो ५०१ नं. कोठामा बसेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रेमीसहित ३ जनालाई नियन्त्रण लिएको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा खड्का र राउत बिहान ३ बजे मात्र होटलमा प्रवेश गरेको भेटिएको छ । प्रहरी स्रोतका अनुसार खड्का र राउत शुक्रबार राति १ बजेसम्म कोटेश्वरस्थित एक होटलमा बसेका थिए । त्यसपछि उनीहरुबीच घर जाने कुरा हुन्छ । तर, रात छिप्पिसकेकाले युवकले तिलगंगातिर कोठा खोजे तर, पाएनन् । होटल खोज्ने क्रममा सुन्धारा पुगेका हुन् ।
युवकले प्रहरीसामू आफूहरुसँगै सुतेको र बिहान राउतलाई सिलिङ फ्यानमा झुण्डी राखेको देखेको बताएका छन् ।