खेल

विश्वकप छनोट खेलमा यस्तो छ नेपालको खेल तालिका

विश्वकप छनोट खेलमा यस्तो छ नेपालको खेल तालिका

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल आयोजक राष्ट्र जिम्वाबेसँग खेल्ने भएको छ ।

 

फागुन २० देखि जिम्वाबेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालले आयोजक जिम्वाबेसहित स्कटल्यान्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्न लागेका हो ।

 

समूहमा नेपालले फाल्गुन २० मा जिम्वाबेसँग, फाल्गुन २४ मा स्कटल्याण्डसँग, फाल्गुन २६ मा अफगानिस्तानसँग र फाल्गुन २८ गते हङकङविरुद्ध खेल्नेछ ।

 

समूह चरणको उक्त खेलअघि नेपालले २ वटा ‘वार्मअप’ खेल खेल्नेछ । आईसीसीको आधिकारिक वेव पोर्टलले जनाएअनुसार नेपालले फागुन १५ मा युएई र फागुन १७ मा हङकङसँग वार्मअप खेल खेल्ने छ ।

 

दुवै समूहका शीर्ष ३, ३ टिम सुपर–सिक्समा पुग्नेछन् । सुपर–सिक्समा लिग खेल हुनेछन् । शीर्ष २ टिम, सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

 

एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वतः छनोट भइसकेका छन् । छनोट प्रतियोगिताबाट २ र स्वतः छनोट भएका ८ गरी १० टिमले आगामी वर्ष हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

 

विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिवसीय मान्यता पाइसकेको छ ।

 

अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् । नेपालले एदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ । जसका लागि छनोटमा प्लेअफ हुनेछ ।

विशेष