मुख्य समाचार

महँगा स्कुलले नै तिरेनन् करोडौं कर

महँगा स्कुलले नै तिरेनन् करोडौं कर

काठमाडौं । ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन् । ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच करोड रुपैयाँ राजस्व तिर्न बाँकी छ ।

डीएभी स्कुलले दुई करोड, धापाखेलस्थित जेम्स स्कुलले एक करोड ५० लाख, रातो बंगला स्कुलले ५० लाख, आदर्श विद्या मन्दिरले एक करोड, ब्रिटिस स्कुलले ५० लाख, युनाइटेड एकेडेमीले १० लाख र प्रसादी एकेडेमीले १० लाख रुपैयाँ घर जग्गाबापतको कर तिर्न बाँकी छ ।

ललितपुर महानगरका राजस्व प्रशासन महाशाखा प्रमुख डिल्लीराम शाक्यले यस वर्ष सबैलाई करको दायरामा ल्याउन र कर तिर्न प्रोत्साहन गर्न विशेष योजना ल्याएको जानकारी दिए । महानगरले चालु आर्थिक वर्षलाई कर वर्षको रूपमा मनाइरहेको छ । शाक्यका अनुसार नगरसभाले नै घरजग्गा, मालपोत, व्यवसाय तथा पुराना कर बक्यौतामा दस प्रतिशत छुट दिने व्यवस्था गरेको थियो ।

जेम्स स्कुलका संस्थापक एवं प्राचार्य राजेश खड्काले कर नतिरेको भनेर महानगरबाट गलत छाप दिन खोजिएको बताए । घर जग्गाबाहेक बच्चा खेल्ने ठाउँ, एसेम्ब्ली प्रांगण, पार्किङ स्थल सबैतिरको अतिरिक्त कर लिइएको गुनासो गरे । ‘न्यायसंगत छलफल हुन जरुरी छ,’ उनले भने, ‘होटल व्यवसायी र केटाकेटी खेल्ने ठाउँ फरक कुरा हुन् । विद्यालयमा तिर्नसक्ने कर लागू गरिनुपर्छ ।’ आजको अन्नपूर्णमा खबर छ ।

विशेष