समाज

ठेकेदारकाे लापरवाहीले नबन्दै भाँचियाे पुल

ठेकेदारकाे लापरवाहीले नबन्दै भाँचियाे पुल

सिन्धुपाल्चाेक । नेपाल-चीन सीमा जोड्ने लार्चाको बेलीब्रिज गुणस्तरहीन सामग्री प्रयोग भएका कारण भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । सडक विभागले पुल भाँचिनुमा ठेकेदारलाई दोषी देखाएको छ भने ठेकेदारले कमसल सामग्रीका कारण पुल भाँचिएको दावी गरेको छ ।

 

बेलीब्रिज निर्माणमा आवश्यक सामग्री सडक विभागले खरिद गरेको थियो । पुलको लागि जिप निर्माण र फिटिङको जिम्मा सडक विभागले बन्धन भगवती निर्माण सेवालाई ३४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । बन्धन भगवतीले पनि फिटिङको काम अर्को ठेकेदारलाई दिएको थियो । तर, निर्माण अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो ।

 

कमिसन लिएर सडक विभागका कर्मचारीहरुले गुणस्तरहीन सामग्री खरिद गरेकाले भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । ‘सामग्री कमसल भयो कि भन्ने हाम्रो बुझाइ छ, गुणस्तर परीक्षणका लागि चीनबाट मान्छे झिकाएका छौं,’ बन्धन भगवती निर्माण सेवाका इन्जिनियर विनोद पन्तले भने । पुलको सामग्रीसमेत अब टेष्ट गरिने उनले बताए ।

भाँचिएको पुल बन्न भने अझै एकसाता लाग्ने भएको छ । भाँचिएको पुललाई ठेकेदार कम्पनीले क्रेनले उठाउन खोजेपनि कम क्षमताको क्रेनका कारण समस्या भएको थियो । अब हेभिवेटको क्रेन लगेर उठाइने छ ।


अबको एक सातामा पुलमा सवारी साधन सञ्चालन गर्न सकिने निर्माण कम्पनी बन्धन भगवती निर्माण सेवाका इन्जिनियर पन्त बताउँछन् ।

‘मंगलबार बेलुकीसम्म साइडमा हेबी क्रेन पुग्ने उनले बताए । क्रेन एकदमै हेबी भयो, बाटो समस्या छ, स्काभेटरले ठेलेर क्रेन लगिरेहका छौं,’ पन्तले भने, ‘क्रेन पुग्नासाथ काम सुरु गर्ने छौं ।’

अहिले लगिएको क्रेनले पनि भाँचिएको पुल उठाउन सकिएन भने अर्काे क्रेन तयारी हालतमा राखिएको पन्तले बताए । ‘अर्काे क्रेन पनि तयारी हालतमा छ, दुवै क्रेन लगाएर भाँचिएको पुल उठाउँछौं,’ पन्तले भने ।

विशेष