खेल मुख्य समाचार

नेपाल र युएईबीचको अभ्यास खेल ओसिलो मैदानका कारण समयमै शुरु हुन सकेन

नेपाल र युएईबीचको अभ्यास खेल ओसिलो मैदानका कारण समयमै शुरु हुन सकेन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपाल र युएईबीचको अभ्यास खेल भिजेको ओसिलो मैदानका कारण समयमा शुरु हुन सकेन ।


जिम्बावेको क्वेक्वे मैदानमा अहिले वर्षा नभए पनि यसअघिको वर्षाका कारण मैदान भिजेकाले खेल समयमै शुरु हुन नसकेको हो । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट शुरु हुनुपर्ने थियो ।


आगामी मार्च ४ तारिखदेखि शुरु हुने प्रतियोगिताअघिको वार्मअप खेलमा नेपालले युएईको सामना गर्न लागेको हो । नेपाल र युएई दुवै आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन टू'को शीर्ष २ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउन सफल भएका हुन् ।

 

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा बाँडिएको छ । युएई समूह ए र नेपाल समूह बीमा परेका छन् ।


समूहका हरेक टोलीसँग १-१ खेल खेलिसकेपछि शीर्ष ३ टीमले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्सको प्लेअफ चरण पार गर्दै फाइनलमा पुग्ने २ टोलीले आगामी सन २०१९ मा हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।


यस्तै वेस्ट इण्डिज, जिम्बावे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्डसँग एक दिवसीय मान्यता रहेकाले यसबाहेकका थप शीर्ष ३ टोलीले ४ वर्षका लागि एकदिवसीय मान्यता पाउने छन् ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बावेसँग ४ तारिखमा खेल्नेछ । नेपाल रहेको समूहमा जिम्बावेसहित अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।

विशेष