युएई १७१ रनमा अलआउट भयाे, नेपालका ललितले लिए ४ विकेट
काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा युएईले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको युएई १७१ रनमा २८ ओभर ४ बलमा अल आउट भएको छ।
नेपाल अबको केहीबेरमा उक्त लक्ष्य पछ्याउन ब्याटिङ गर्नेछ। जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएपछि खेल ढिलो सुरु भएको थियो भने २९ ओभरमा खेल छोट्याइएको थियो। युएईका लागि अस्फाक अहमेदले सर्वाधिक ४२ रन बनाएका थिए। त्यस्तै अदान मुफ्तीले ३७, गुलाम सबरले ३२, मुहम्मद उस्मानले २६ रन बनाउँदा सहिमन अनवरले १६ रन बनाए। नेपालका लागि ललित भण्डारीले ४ विकेट लिएका थिए।
करन केसीले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए भने कप्तान पारस खड्काको नाममा १ विकेट रह्यो। जिम्बावेको क्वेक्वे मैदानमा भइरहेको खेलमा नेपालले युएईको पहिलो विकेट लिएको छ। नेपालका लागि ललित भण्डारीले विकेट लिएका छन्। युएईका रोहन मुस्तफा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच भएका हुन्। उनी ४ रनमा आउट भएका हुन्। नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु भुनुपर्ने खेल ढिलोगरी सुरु भएको थियो। युएईले टस जितेर ब्याटिङ रोजेको थियो।
जिम्बाबेमा रहँदा नेपाली टोलीले खेल्ने यो पहिलो अभ्यास खेल हो। नेपालले अर्को अभ्यास खेल मार्च १ मा हङकङसँग खेल्नेछ। इंग्ल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप २०१९ को लागि जिम्बाबेमा मार्च ४ देखि छनोट प्रतियोगिता सुरु हुँदैछ। नेपालसहित १० मुलुक सहभागी हुने प्रतियोगितामा उत्कृष्ट हुने दुई टिम विश्वकप खेल्न छानिनेछ भने प्रतियोगिताबाट उत्कृष्ट–३ एसोसिएट राष्ट्रले एकदिवसीयको मान्यता पाउनेछ।
प्रतियोगिताअन्तर्गत नेपाल समूह ‘बी’मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ। नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोली जिम्बाबेविरुद्ध खेल्दैछ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हङकङको सामना गर्नेछ।
नेपाली टीममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी रहेका छन्। त्यस्तै वैकल्पिक खेलाडीमा सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो छन्।