बैतडीमा चितुवाकाे आक्रमणमा एक बालक घाइते
चितुवाले सधैं दुख दिने गरे पनि प्रशासन माैन रहने गरेकाे स्थनीयकाे अाराेप
बैतडी । बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकमाथि आक्रमण गरेको छ ।
आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
घरकै भुइँतलाको भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाउ बनाएकाे छ । घाइते बालकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि आज विहान सेती अञ्चल अस्पताल, धनगढी रेफर गरिएको छ ।
६ वर्षदेखि चितुवाले आक्रमण गरी त्यस क्षेत्रका २३ जनाको ज्यान लिइसकेको छ । केही समय चितुवाले मानिसलाई आक्रमण नगरेको भए पनि फेरि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका वीरेन्द्र महताले जानकारी दिए । उनले भने, “हामी जहिले पनि त्रासमै छौँ, स्थानीय प्रशासन मौन छ ।”
चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिएता पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ । बेला–बेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो ।
त्यस क्षेत्रमा चितुवाले बालबालिका र महिलालाई बढी आक्रमण गर्ने गरेको छ । यसअघि गत भदौमा पनि एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । रासस