जापानले दियो एन्फालाई झन्डै ७४ लाखकाे अनुदान सहयोग
काठमाडौं । जापानले अखिल नेपाल फुटबल संघ एन्फालाई झन्डै ७४ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको रंगशाला, होस्टेल तथा अन्य पूर्वाधार निर्माण एवं सुधारका लागि यो रकम सहयोग गरिएको हो ।
जापानी दूतावसामा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धिरेन्द्र प्रधानले सहयोगसम्बन्धी सम्झैतापत्रमा हस्ताक्षर गरे ।
जापानले कल्चरल ग्रासरुट प्रोजेक्टमार्फत यो सहायत उपलब्ध गराएको हो ।यसैगरी, जापान सरकारले एन्फाको प्राविधिक पक्षमा सहयोग गर्न एकजना विज्ञ नियुक्त गरिदिएको छ ।
हाल एन्फामा टेक्निकल एड्भाईजरको रुपमा रहेका सियाकी ताकेडालाई जापान सहयोग नियोग जाइकामार्फत एक वर्षका लागि एन्फाको प्राविधिक विज्ञमा नियुक्त गरिदिएको हो ।
पछिल्लो दुई वर्षदेखि ताकेडा जापान फुटबल संघ जे.एफ.ए को सहयोगमा नेपाली टोलीका टेक्निकल एड्भाईजरको रुपमा कार्यरत थिए ।यसैगरी, दुई वर्षदेखि मुख्य प्रशिक्षकको रुपमा रहेका ग्योतोकु कोजीको नेपाली राष्ट्रिय टोलीसँगको बसाई कम्तिमा एक वर्ष लम्बिएको छ । कोजीले अब आफ्नो ध्यान आसन्न साफ गेम्समा केन्द्रित हुने बताए ।
नेपाली राष्ट्रिय फुटबल टोलीले यही मार्च २७ तारिखमा यमनसँग एसिन कप छनोट चरणको अन्तिम खेल खेल्दैछ । कतारमा हुने उक्त खेलको लागि यही मार्च ४ तारिखदेखि खेलाडीहरुको प्रशिक्षण सुरु हुने बताइएको छ ।