हुकिङ गरी विद्युत चोर्नेसँग ५० हजार जरिवाना
बारा । नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखाले हुुक लगाएर विद्युत् चोर्ने १५ जनालाई कारबाही गरेको छ ।
प्राधिकरणको टोलीले कलैया उपमहानगरपालिकाका विभिन्न स्थानबाट ती विद्युत् चोरीमा संलग्नलाई कारबाही गरेको हो ।
उपमहानगरको वैधनाथपुर, बेलहिया, प्रस्टोका र प्रसौनी गाउँपालिकाबाट विद्युत् हुक गरी चोर्नेलाई कारबाही गरिएको प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख धुपेन्द्र झाले बताए ।
त्यसरी हुक गरेर बिजुली चोर्दै आएका ती स्थानीयसँग ५० हजारसम्म जरिवाना गराइएको पनि उनले जानकारी दिए ।
जिल्लामा प्रतिमहिना साढे दुई लाख युनिट बिजुली चुहावट हुने अनुमान पनि प्राधिकरणले गरेको छ । जसबाट प्रतिमहिना प्राधिकरणलाई ३० लाख रुपैयाँ घाटा हुने गरेको छ ।