खेल

इङ्गलिस प्रिमियर लिगमा आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी

इङ्गलिस प्रिमियर लिगमा आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी


काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । म्यान्चेस्टर सिटी भने बराबरीमा रोकिएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई बर्न्लेले १–१ गोलको बराबरीमा रोकेको हो ।

बर्न्लेको मैदानमा भएको खेलको २२ औं मिनेटमा म्यान सिटीका ड्यानिलोले गोल गरे । तर खेल सकिन ८ मिनेट बाँकी छँदा बर्न्लेका गुड्मन्सनले गोल गर्दै खेल बराबरी गरेका हुन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले भने गएराती हडर्स्फिल्ड टाउनलाई २–० ले पराजित र्गयो ।


खेलमा म्यानयूलाई विजयी गराउन रोमेलु लुकाकु र अलेक्सिस सान्चेजले एक एक गोल गरे । गएराती भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई ५–१ ले पराजित र्गयो । एकतर्फी खेलमा आर्सनललाई विजयी गराउन आयरन राम्सेले ह्याट्रिक गरेभने लरेन कोसेल्नी र पिएरे एमरीक औबामायङ्गले एक एक गोल गरे ।

अघिल्लो हप्ता मात्रै जर्मन क्लव बोरुसीया डर्टमण्डबाट आर्सनल आएका अफ्रिकी मुलुक गाबोनका खेलाडी औबामायङ्गले आफ्नो पहिलो खेलमै गोल गरेका हुन् । इंग्लीश प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई ३–२ ले, ब्राईटनले वेष्ट ह्यामलाई ३–१ ले तथा बर्नमाउथले स्टोक सिटीलाई २–१ ले हराएका छन् ।

लेष्टर सिटी र स्वान्सी सिटीले भने १–१ गोलको बराबरी खेलेका छन् । गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ । एक खेल कम खेलेका लिभरपूल र चेल्सी ५०–५० अंकको साथ क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

विशेष