खेल

पुलिस बन्यो च्याम्पियन

पुलिस बन्यो च्याम्पियन

पोखरा । नेपाल पुलिस क्लब पाँचौंपल्ट आहारारा गोल्डकपको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार चीरपरिचित थ्रीस्टार क्लबलाई फाइनलमा १–० ले हराउँदै पुलिसले १६ औं आहा–रारा गोल्डकपको उपाधि चुमेको हो ।

 पुलिसका जितमा राम वाजीको एकमात्र गोल निर्णायक बन्यो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि थपिएको २० मिनेटको पहिलो हाफको इन्जुरी समयमा उनले गोल गरेका हुन् । फाइनल खेलमा उनी म्यानअफ दी म्याच भए ।

उपाधिसँगै पुलिसले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । क्याराभान गोल्डकपसहित पहिलो, छैठौं, सातौं र आठौं संस्करण जितेको पुलिसले सात वर्षपछि आहा–रारा गोल्डकपको उपाधि जितेको हो ।

प्रतियोगितामा पुलिसका रवी पाश्वासनले उत्कृष्ट खेलाडी हुँदै स्कुटर पाए । पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठ समान ३र३ गोल गर्दै सर्वोत्कृष्ट गोलकर्ता बने । उत्कृष्ट गोलकर्ताको उपाधि पनि थ्रीस्टारका विश्वासले पाए । उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा, उत्कष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल बल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी र उत्कृष्ट गोलकिपर पुलिसकै शत्रुघन चौधरी घोषित भए । फेयर प्ले टिमको उपाधि सुदूरपश्चिम ११ ले पायो । उनीहरुले १५ हजार रुपैयाँ प्राप्त गरे । विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरे ।

विशेष