स्वास्थ्य

आज विश्व क्यान्सर दिवस, यसरी मनाइँदैछ

आज विश्व क्यान्सर दिवस, यसरी मनाइँदैछ


काठमाडौं । आज विश्व क्यान्सर दिवस, हामी सक्छौ म सक्छु भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । क्यान्सर रोग लागेका धेरैजसो विरामीमा निको हुँदैन भन्ने अन्धविश्वास रहेको पाइएकाले यस वर्षको नारा अन्धविश्वासमा नबसौं तय गरिएको हो ।

क्यान्सर रोगको संक्रमण देखिने बितिकै उपचार गराए निको हुने चिकित्सकले बताएका छन् । खानपानमा ध्यान र्पुयाए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विकसित राष्ट्रहरुमा भन्दा पनि विकासोन्मुख राष्ट्रहरुमा हरेक वर्ष क्यान्सरका विरामी थपिंदै गएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

९० प्रतिशत क्यान्सर रोगीले अन्तिम अवस्थामा उपचार खोज्ने
९० प्रतिशत क्यान्सर रोगीले अन्तिम अवस्थामा उपचार खोज्ने नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् । अन्तिम अवस्थामा क्यान्सर पहिचान भएपनि उपचार सम्भव नहुने कारण ६ महिनादेखि १ बर्षमै मृत्यु हुने गरेको पाइएको छ ।

समयमै रोग पहिचान भए महत्वपूर्ण अनुपातमा क्यान्सर निदान गर्न सकिने चिकित्सकहरुको भनाई छ । तर जनचेतनाको अभाव त कहिलेकाँही उचित चिकित्सकिय परामर्श अभावका कारण क्यान्सरबाट हुने मृत्युदर बढ्दो छ ।

क्यान्सरको लक्षण


लामो समयसम्म घाउ निको नहुनु, अस्भाविक रुपमा तौल घट्नु, शरीरमा गिर्खाहरु देखा पर्नु्, दिसापिसावमा रगत देखा पर्नु, स्तनमा गाँठागुँठी देखिनु, कोठीहरु अस्भाविक रुपमा बढ्नु, लामो समयसम्म खोकी लाग्नु, छालाको रंग परिवर्तन हुँदै जानु, ज्वरो आइरहनु लगायतका लक्षणहरु क्यान्सर हुने वा भएका संकेत हुन् ।

क्यान्सर रोगको कारण


क्यान्सर रोगको कारण यहि हो भन्न नसकेपनि अस्वस्थकर खानपिन, रहनसहन तथा वातारणीय प्रभाव प्रमुख मानिन्छ । करिब १० प्रतिशत क्यान्सरका उमेर, लिङ्ग, बंशानुगत कारण लगायत छन् । सुर्ती वा सुर्तीबाट बनेका पदार्थहरू जस्तै चुरोट, बिँडी, तमाखु, खैनी, सुर्तीको सेवनले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गको क्यान्सर हुन्छ ।

मादकपदार्थको सेवनले मुख, अन्ननली, पेट, आन्द्रा, स्तन, कलेजोका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ । अस्वस्थकर खानपिनले करिब ३५ प्रतिशत क्यान्सर हुने सम्भावना रहन्छ । यस्तै विकिरण अत्यधिक सौर्य विकिरणका साथै एक्स–रे, सिटिस्क्यानजस्ता उपकरणबाट निस्कने विकिरणको प्रभावले रगतका साथै अन्य अङ्गको क्यान्सर हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

क्यान्सरबाट बच्न सकिन्छ


जीवनशैली र खानपानमा सुधार गरे ६० प्रतिशत र धुमपान–मध्यपान त्यागे मात्र पनि ३० प्रतिशतसम्म क्यान्सरबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार करीव एक तिहाइ क्यान्सर लाग्नबाटै बचाउन सकिन्छ ।

प्रदुषणरहित वातावरण, विषाधी तथा रासायनमुक्त खानेकुराको प्रयोग, नियमित व्यायाम, नियन्त्रित शारीरिक तौल, कम चिल्लो र स्वस्थ्यकर खानपिनको सेवन गर्नु क्यान्सरबाट बच्ने पहिलो कदम हो । यसका साथै नियमित स्वास्थ्य परिक्षण गर्नु अर्को महत्वपूर्ण पाटो हो ।

विशेष