डीपीएलको ट्यालेन्ट हन्ट सम्पन्न
काठमाडाैं । धनगढीमा धनगढी प्रिमियर लिग (डीपीएल) को ट्यालेन्ट हन्ट सोमबारसम्पन्न भएको छ । ट्यालेन्ट हन्टबाट छनोटमा परेका ६ जना खेलाडीले आउँदो चैत्र १७ गतेबाट सुरु हुने डीपिएल खेल्न पाउनेछन् ।
सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टमा एक सय बढी खेलाडीहरुको सहभागिता रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गर्ने र तिनलाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिनेछ ।
जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म भाउ लगाउँदै एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ । राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गरेका थिए ।
मुल्यांकन सोमबार साँझ मात्रै सम्पन्न हुने र मंगलबार छनोटमा परेका खेलाडीको नाम सार्वजनिक गरिने शाहीले बताए । डीपिएलमा देशका विभिन्न ६ शहरहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।