बाक्लो सिरक ओढाउँदा निस्सासिएर बालकको मृत्यु
गाईघाट, उदयपुर । उदयपुरमा सिरकभित्र निसास्सिएर एक बालकको मृत्यु भएको छ।
कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला उनलाई पलङमा सुताइएको थियो। तर बाक्लो सिरक ओढाएका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षका बालक रञ्जित विक रहेका छन्। बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी गीता विकले छोरालाई हल्का सिरक ओढाएर विवाहमै व्यस्त थिइन्। तर कसैले नियतवश वा अन्जानमा बालकलाई अर्को ठूलो सिरक ओढाइदिएकाले निस्सासिएर मृत्यु भएको प्रहरीको भनाइ छ।
नियतवश सिरक ओढाएर मृत्यु गराएको भन्दै छानबिन र अनुसन्धानका लागि बालकका हजुरबुबाले प्रहरीमा जाहेरी दिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीले बताए।
मृतक बालकका बुबा रत्नबहादुर वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।रासस